अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल समर्थन फिर्ता लिन प्रचण्डलाई माधवको दबाब

तत्काल समर्थन फिर्ता लिन प्रचण्डलाई माधवको दबाब


काठमाडौं- नेकपा एमाले नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन दवाब दिनुभएको छ ।

माधवनिकट एक नेताले दिएको जानकारीअनुसार तत्कालै सरकार छाड्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन बााध्य पार्न माधवले दवाब दिनुभएको हो । व्यापारी तथा ठेकेदार टपेन्द्र कार्कीको घरमा प्रचण्ड र माधवको आज बिहान भेटमा नेता नेपालले प्रचण्डलाई सो दबाब दिएको स्रोतले जनाएको छ ।

आफ्नो गुटभित्र तीव्र विवाद उत्पन्न भएपछि आपतविपतमा पर्नुभएका एमाले नेता माधवले माओवादीले सरकार त्यागेमा केपी ओली दबाबमा पर्ने र एमालेभित्र आफूहरूलाई सजिलो हुने अपेक्षा राख्नुभएको छ ।

‘ओली सरकार ढाल्न जति ढिलाइ हुन्छ, ओलीलाई विश्वासको मत लिन वाध्य पार्ने काम जति पर धकेलिन्छ, ओली त्यति बलियो हुन्छन् भन्ने माधव कमरेडको भनाइ छ,’ माधवनिकट नेताले आईएनए न्युज एजेन्सीसँग भन्नुभयो ।

माधव गुटभित्र एमालेमै बस्ने कि प्रचण्डको पार्टीतिर लाग्ने भन्ने चर्काे विवाद भइरहेको छ । आज बस्ने संसदीय दलको बैठकमा सांसदहरूलाई जानबाट रोक्ने प्रयास पनि जारी रहेको छ । प्रचण्डले ‘स्टेप’ नचाल्ने हो भने आफ्नो साथमा रहेका सांसद्हरु भटाभट एमालेमा जाने माधवको भनाई रहेको बुझिन्छ ।

‘माओवादी केन्द्रले सरकार छाड्नुपर्‍यो, यही भन्न माधवले भेट्नुभएको हो,’ माधवनिकट नेता बताउनुहुन्छ ।

आफ्नो पक्षका ठूलो संख्याका सांसदहरूले एमाले नछाड्ने भन्न थालेपछि माधव नेपाल समस्यामा पर्दै आउनुभएको छ ।