काठमाडौं : कोभिड-१९ को महामारीको चपेटामा परेको कूल ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको काम पुनः सुरू भएको छ ।
नयाँ वर्ष मनाउन २०७६ साल माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरू कोभिड-१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम भइरहेको आयोजनाको निर्माण करिब १४ महिना ठप्प भएको थियो ।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङले अहिले मुख्य सुरुङ, विद्युत्गृह लगायतका संरचना निर्माणको काम गरिरहेको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन् ।
“नयाँ वर्ष मनाउन २०७६ को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरु कोभिड-१९ का कारण फर्कन नसक्दा करीब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि शुरु भएको छ”, उहाँले भन्नुभयो ।
चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिएको छैन । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय लगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गर्नुभयो ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना गत फागुन भित्रै सम्पन्न लक्ष्य राखी निर्माण शुरु गरिएको थियो । कोभिड-१९ का कारण लगातार १४ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम शुरु हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
इन्जिनीयरिङ, खरीद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङसँग २०७४ साल माघ २९ गते तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र रु एक अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन लगायतको २०/२० कित्ता शेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लगायतले खरीद गर्नुभएको थियो । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत् गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ ‘बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन । माथिल्लो त्रिशुली थ्री ‘ए’को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । सोही विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरू गरिएको छ ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच, रसुवा तथा नुवाकोटवासीको १०, सर्वसाधारणको १५ र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ । रासस
प्रतिक्रिया