अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानान्तर कमिटी बनाउनेलाई माफी दिइनु हुन्न : आनन्द पोखरेल

समानान्तर कमिटी बनाउनेलाई माफी दिइनु हुन्न : आनन्द पोखरेल


रामेछाप- नेकपा एमाले बागतमी प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफ्नो पार्टीविरुद्ध लाग्नेहरू कहिल्यै माथि उठ्न नसक्ने बताउनुभएको छ ।

नेपालका प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा एमाले रामेछापले सोमबार मन्थलीमा गरेको कार्यक्रममा उहाँले त्यसो भन्नुभएको हो ।

‘मानिस राम्रो हुनसक्छ, शालिन हुनसक्छ, इमान्दार जस्तो पनि देखिनसक्छ, तर पार्टीको नीति, सिद्धान्त, विचार र पार्टीलाई अवज्ञा गर्‍यो भने जस्तोसुकै ठूलो मान्छे पनि भुईँमा खस्न सक्छ,’ पोखरेलले भन्नुभयो ।

एमालेमा समानान्तर कमिटी बनाउनेलाई माफी नदिइने बताउँदै उहाँले भन्नुभयो, ‘पार्टी कार्यकर्तालाई दिगभ्रमित गर्ने र पार्टीलाई गलत दिशातिर लाने जुन काम भएको छ, नेकपा एमालेको इतिहासमा त्यो अपराधपूर्ण काम हो ।’ पार्टीको एउटै झण्डा र चिन्ह बोकेर अर्को समानान्तर कमिटी कुनै पनि हालतमा हुन नसक्ने बताउनुभयो । ‘समानान्तर पार्टीको नाममा पार्टीमा विष घोल्ने काम नगर्नुस्,’ पोखरेलको चेतावनी थियो ।

नेकपा एमाले पार्टी विधान र राजनीतिक मूल्य मान्यताको आधारमा अघि बढेको पार्टी भएको भन्दै उहाँले एमालेमा कुनै पनि समानान्तर कमिटीको अस्तित्व नभएको बताउनुभयो ।

एमालेबाट जितेका कुनै पनि निर्वाचित जनप्रतिनिधि पार्टी निर्देशन विपरित छुट्टै कमिटी बनाएर हिँडे पार्टीले कारबाही गर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘ती मानिसहरू एमाले हुन सक्दैनन्, एमालेका जनप्रतिनिधि हुन सक्दैनन्, ती मान्छे विद्रोही हुन्,’ उहाँले भन्नुभयो ।

पार्टी नीति विपरित काम गरेर कोही हिँड्यो भने चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभयो । ‘पार्टीविरुद्ध कथित समानान्तर गतिविधि नगर्नुस्, त्यस्तो भयो भने एमालेलाई त्यो सैह्य हुँदैन, जनताको मतलाई अपमान नगर्नुस्,’ पोखरेलले भन्नुभयो ।