अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले तोक्यो सबै तहको अधिवेशन मिति [पूर्णपाठसहित]

एमालेले तोक्यो सबै तहको अधिवेशन मिति [पूर्णपाठसहित]


काठमाडौं । नेकपा एमालेले सबै तहको अधिवेशन मिति तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख ६, १० र १२ गते बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णयानुसार एमालेले सबै तहको अधिवेशन मिति तोकेको हो ।

महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको कार्यतालिकालाई परिमार्जनसहित पारित गर्दै एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

वैशाख ६, १० र १२ गते बसेको दशौं महाधिवेशन आयोजक कमिटी तथा १२ गते बसेको पहिलो स्थायी कमिटी बैठकका निर्णयलाई समेटेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्नुभएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले एमाले ब्युतिँएपछि गरेका निर्णयहरुको जानकारी गराउँदै त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

ती बैठकले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरु गरेको भन्दै सर्कुलर जारी गरिएको अपानिमा उल्लेख छ ।

ती निर्णयलाई ग्रहण गर्दै काम गर्न प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । अपानिमा उल्लेख गरिएको छ, ‘राष्ट्रिय राजनीति तथा पार्टी निर्माण एवं सुदृढीकरणका सम्बन्धमा गरिएका यी निर्णयहरुलाई हार्दिक रुपमा ग्रहण गर्न र तत्परता तथा एकरूपताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको छ ।’

असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने पनि अपानिमा उल्लेख छ । एमालेले ०७८ साउन २५ देखि २७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवं निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठक आयोजना गरिएको पनि जनाएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकेपछि भदौ ५ गते देशभरका वडा कमिटीको अधिवेशन गर्ने अपानिमा उल्लेख छ । भदौ १५ मा पालिका कमिटीहरूको अधिवेशन हुनेछ ।

भदौ ३० मा ७७ जिल्ला र विभागीय कमिटीको अधिवेशन गर्ने एमालेले जनाएको छ । असोज २३ गते प्रदेश कमिटीको अधिवेशन गर्ने मिति एमालेले तय गरेको छ ।

अन्तरपार्टी निर्देशन हेर्न यहाँ क्लिक गर्नुस्