अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई देउवाको आग्रह : तत्काल श्रमिकका लागि राहतको कार्ययोजना ल्याउनुपर्छ

सरकारलाई देउवाको आग्रह : तत्काल श्रमिकका लागि राहतको कार्ययोजना ल्याउनुपर्छ


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले लकडाउनका कारण आर्थिक-सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग आग्रह
गर्नुभएको छ ।

उहाँले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही आन्दोलन थियो ।

उहाँले कांग्रेस र मजदूर सधैँ एकार्कामा आबद्ध भएर एकार्काका अनन्य सहयोगी भएर रहिआएको जनाउँदै अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।