अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव असफल पार्छौँ : सांसद पन्थी

लुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव असफल पार्छौँ : सांसद पन्थी


काठमाडौं- नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव असफल पारेरै छाड्ने दबी गर्नु भएको छ ।

आइतबारदेखि सुरू हुने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव फेल-पास के होला भन्ने प्रश्नमा सांसद पन्थीले यस्तो दाबी गर्नु भएको हो ।

माधव गुटका सांसदले धोका नदिए लुम्बिनीमा नेकपा एमाले एकल बहुमतमा छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा थियो । तर, माओवादी र जनता समाजवादी पार्टीका सांसद कारबाहीमा परेपछि एमाले एक्लै बहुमत पुगेको हो ।

जसपा सांसदलाई पार्टीले नभएर उपेन्द्र यादव गुटले गैरकानुनी कारबाही गरेको छ । कीर्ते कारबाहीमा परेका जसपाका चार सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले कानुनी उपचार खोजिने बताइसक्नुभएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सो कदम गैरकानुनी भएको बताइसक्नुभएको छ । सो विषयलाई लिएर जसपामा विवाद सुरू भएको छ । उहाँहरू चारै जना लुम्बिनी सरकारको मन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश सभा सचिवालयले उहाँहरूको पद रिक्त गरिसकेकाले अब त्यसको छिनोफानो अदालतले गर्नेछ ।

‘हामीसँग अहिले आफ्नै पार्टी एमालेको ४१ सिट छ, यो भनेको अविश्वास प्रस्ताव असफल गराउन पुग्ने मत हो, हामी अविश्वास प्रस्तावलाई असफल गराउँछौँ,’ पन्थीले भन्नुभयो । जसपाका चार सांसद्बारे अदालतले निर्णय नगरेको अवस्थामा पनि एमाले बहुमतमै रहने सांसद पन्थीले बताउनुभयो ।

‘न्यायलयबाट निर्णय नआउँदासम्म उहाँहरू प्रदेश सभा सदस्य त हुनुभएन, पर्सीसम्म मतदान होला, अहिले सामान्य अंकगणित हेर्दा अविश्वास प्रस्ताव पेस गर्नेको पक्षमा बहुमत देखिँदैन, ८१ मा ४१ एमाले एक्लैको बहुमत हो’

जसपाका चार जना सांसद सर्वोच्च अदालतमा रिट दर्ता गर्न काठमाडौं आउनुभएको भएपनि शुक्रबार रिट दर्ता हुन सकेन । कोभिड जोखिमका कारण बन्दी प्रत्यक्षीकरणका रिट बाहेक अन्य मुद्दा वैशाखभर दर्ता नगर्ने सर्वोच्चको निर्णयका कारण उहाँहरूको रिट दर्ता हुन नसकेको हो । अदालतमा रिट नै दायर नभएको अवस्थामा उहाँहरूले विशेष अधिवेशनमा भाग लिन पाउनुहुन्न ।

जसपा सांसद नभएको अवस्थामा पनि एमालेलाई खासै फरक नपर्ने एमाले सांसद् पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्यायलयबाट निर्णय नआउँदासम्म उहाँहरू प्रदेश सभा सदस्य त हुनुभएन, पर्सीसम्म मतदान होला, अहिले सामान्य अंकगणित हेर्दा अविश्वास प्रस्ताव पेस गर्नेको पक्षमा बहुमत देखिँदैन, ८१ मा ४१ एमाले एक्लैको बहुमत हो ।’

तत्काल उपलब्ध सदस्य संख्यामा आफूहरूको बहुमत रहेको बताउँदै विष्णुले भन्नुभयो, ‘उहाँहरूको अनुपस्थितिले हामीलाई फरक पार्दैन, संसदीय प्रक्रिया अन्तर्गत जान्छ, फेरि पनि भन्छु अविश्वास प्रस्तावलाई असफल गराउँछौँ ।’

लुम्बिनीमा पनि कर्णालीमा जस्तै माधव गुटका सांसदले फ्लोर क्रस गरेर सरकारलाई असफल गराउने हुन् कि भन्ने आशंका पनि छ । तर, त्यस्तो नहुने माधव गुट निकट नेता समेत रहनुभएका सांसद पन्थीले बताउनुभयो । सांसद पन्थी यसअघिदेखि नै मुख्यमन्त्रीको पक्षमा हुनुहुन्छ ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद छन् । तीमध्ये हाल ८१ सांसद् मात्र छन् । जसपाका चार सांसदको टुंगो नलाग्दासम्म ६ सांसदको पद रिक्त छ ।

माओवादीका दुई सांसद कारबाहीमा परिसकेका छन् । प्रदेश सभा अब एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई र जनमोर्चाका एक जना सांसद छन् ।