अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई विवेकशील साझा पार्टीको ६ बुँदे सुझाव

सरकारलाई विवेकशील साझा पार्टीको ६ बुँदे सुझाव


काठमाडौं- सरकारलाई विवेकशील साझा पार्टीले ६ बुँदे सुझाव दिएको छ ।

शनिबार विवेकशील साझा पार्टींका प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै सुझाव दिएको हो । संक्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समेत पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

पत्रमा लेखिएको छ, ‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो ।’

कोरोना अपर्झट नआएको भन्दै पत्रमा उल्लेख छ, ‘कोरोना महामारीको पहिलो चरण सुरु भएको एक वर्षभन्दा बढीको यो अवधिमा सङ्क्रमण बढ्दा सामना गर्न सक्ने प्रणाली विकासका लागि पर्याप्त तयारीको अवसर थियो ।’

राज्य र सबै नागरिक एकजुट भएर सङ्कटसँग जुध्नु पर्ने समय अहिले देखा परेको पत्रमा उल्लेख छ । विवेशील साझा पार्टीले सरकारलाई तत्काल निम्न कामहरु अघि बढाउन आह्वान गर्दछ भन्दै ६ बँदे सुझाव दिएको छ ।

१) काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत–साधनको समुचित प्रयोग ।

२) सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना ।

३) सेना र प्रहरीसहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल ।

४) मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पी.पी.ई., जस्ता आवश्यक सामग्री सहयोगको अपिल ।

५) हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन ।

६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी ।