अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको सम्बोधनका १० सन्देश

प्रधानमन्त्रीको सम्बोधनका १० सन्देश


नेपाली बहस डेस्क- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई साढे ८ मिनेटको सम्बोधन गर्नुभयो । छोटो भए पनि सम्बोधनमा धेरै वटा सन्देश समेटिएका थिए । धेरै जनाको अनुमान थियो प्रधानमन्त्रीले सदा जस्तै लामो सम्बोधन गर्नु हुनेछ ।

कोरोनाको सवालमा सरकारले अपनाएको रणनीति, भावी नीति र स्वास्थ्य राहतका अतिरिक्त केही राजनीतिक सन्देश पनि आउलान् कि भन्ने अनुमान थियो । तर, त्यसो भएन । आज प्रधानमन्त्री कोरोना महामारीमा मात्र केन्द्रित हुनुभयो

देशबासीलाई मात्र होइन अन्तराष्ट्रिय समुदायलाई पनि सम्बोधन : प्रधानमन्त्रीले आज आफ्नो सम्बोधनलाई दुई खण्डमा विभक्त गर्नुभयो । पहिलो खण्ड नेपालीमा र दोस्रो खण्ड अंग्रेजीमा । यसको पनि खास अर्थ छ । प्रधानमन्त्रीले देशबासीलाई पनि मात्र हैन अन्तर्राष्ट्रिय समुदायलाई पनि एकैचोटी सम्बोधन गर्ने कोशिस गर्नु भएको छ । अर्थात् नेपालमा कोरोनाले पारेको असर प्रभाव र भयाभवको बारेमा विश्व स्वास्थ्य संगठन र अन्य छिमेकी देशहरूलाई समेत उहाँले फर्स्ट हेण्ड जानकारी गराउन खोज्नुभयो । यो धेरै सकारात्मक कुरा हो ।
त्यसबाहेक प्रधानमन्त्रीले आज गरेको सम्बोधनमा. मुख्य सात वटा वटा सन्देशहरू प्रवाह भएका छन् ।

सबै नागरिकलाई खोप दिन सरकार प्रयासरत : प्रधानमन्त्री ओलीले छोटो समयमा नै २१ लख नागरिकलाई पहिलो डोज खोप र ३ लाख ७० हजारलाई दुवै डोज उपलब्ध गराएको उल्लेख गर्नुभएको छ । यसैगरी, सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन चीन, रुस र कोभ्याक्स कम्पनीहरूसँग कुरा भइरहेको सन्देश दिनुभएको छ । प्रधानमन्त्रीले खोप लगाउनेमा दक्षिण एसियामा नेपाल दोस्रो देश भएको जानकारी दिनुभएको छ ।

निषेधाज्ञामा थप कडाइ : अघिल्लो वर्षको महामारीमा नेपालीहरूले पालना गरेको अनुशासन, धैर्यतालाई धन्यवाद दिँदै यसपालि पनि नागरिक सुरक्षाका लागि अनुशासित भएर घरमै बसिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । त्यती मात्र होइन प्रधानमन्त्रीले महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञामा थप कडाइ गर्ने सोचाइ बनाएकोले नागरिकलाई त्यसैअनुसार तयारी हुन पूर्व सूचनासमेत दिनुभएको छ । कोरोनाको साङलो चुडाउनका लागि निषेधाज्ञामा कडाइ गर्नु परेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

आपूर्ती सहज, सुरक्षित आवागमन : निषेधाज्ञामा थप कडाइ हुँदै जाँदा खाद्यान्नलगायतका संकट आउने हुन् कि भनेर आममानिसले चिन्ता गरिरहेका बेला प्रधनमन्त्रीले यसमा चिन्तित नहुन आग्रह गर्नुभएको छ । सरकारले १३ वटा नाकाबाट आवश्यक सामग्री भित्र्याउने र स्वदेशभित्रको खाद्यान्न उत्पादनलाई पनि सहजै आपूर्ती गर्ने व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । यसैगरी भारतीय नाकाबाट आउने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहज र सुरक्षित प्रवेशको वातावरण मिलाइएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

१ हजार शय्याका ८ अस्पताल : प्रधानमन्त्रीले नेपाली सेनामार्फत् संघीय स्तर र हरेक प्रदेश स्तरमा एकएक वटा कम्तीमा १ हजार शैयाकाअस्थायीकोभिड अस्पतालबनाउने घोषणा गर्नुभएको छ । जसले गर्दा सात वटा प्रदेशमा गरी ७ हजार र संघीय राजधानीमा एउटा गरी ८ हजार शय्याको अस्पताल तुरुन्त निर्माण हुनेछ । यसबाट आमजनताको उपचारमा थप सहज हुने विश्वास प्रधानमन्त्रीको छ ।

सबै अस्पताल कोभिड अस्पताल : प्रधानमन्त्रीले सबै सरकारी र नीजि दुवै प्रकारका मेडिकल कलेज र ठूला अस्पतालहरूलाई कोभिड अस्पतालको रुपमाप्रयोग गर्न उल्लेख गर्नुभएको छ । यसबाट बेडको अभावमा छटपटिएका धेरै बिरामीले राहत पाउने छन् । यसैगरी, हरेक अस्पतालले आफूसँग भएको बेड संख्या र बिरामीको संख्या दैनिक अद्यावधिक गर्नुपर्ने भएको छ । कसैले बेड लुकाएमा कारबाही हुनेछ । यसैगरी सामुदायिक भवन, पार्टी प्यालेस, होटल जस्ता ठाउँहरू सरक्षित क्वारेन्टाइन र आइसोलेसन सेन्टर हुनेछन् ।

ठूलो मात्रामा अक्सिजन उत्पादन : सरकारले जारी अक्सिजनको अभावलाई कम गर्न ठूलो मात्रामा अक्सिजन उत्पादन गर्ने तयारी गरेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नु भएको छ । ठूला मेडिकल कलेज, अस्पतालहरूमा अक्सिजनको उत्पादन गर्ने घोषणा प्रधानमन्त्रीको छ । यसैगरी, सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई पनि तुरुन्त सञ्चालनमा ल्याउने यसको अवैध निर्यातलाई कडाइका साथ रोक्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

अवकास प्राप्त चिकित्सक करारमा : सरकारले अवकास प्राप्तचिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचारमा संलग्न गराउनका लागि एक बर्षका लागि करारमा नियुक्त गर्ने घोषणा प्रधानमन्त्रीले गर्नु भएको छ ।

कोरोनापछिको अर्थतन्त्र जोगाउने प्रयास : प्रधानमन्त्रीले महामारीपछि अर्थतन्त्रलाई तहसनहस हुने र रोजगारीका सबै अवसर गुम्ने अवस्थालाई ध्यानमा राखेर केही नयाँ प्रवन्ध सरकारले गर्ने जानकारी पनि दिनुभएको छ ।

कोरोनाबाट बच्ने आठ टिप्स : प्रधानमन्त्रीले आमनागरिकलाई कोरोनाबाट बचाउन केही टिप्सहरू पुन सम्झाउनु भएको छ । जुन यस प्रकारका छन्

-सकभर घरमै बसौं ।

-घर बाहिर निस्कनु परेमा अनिवार्यरूपमा सही तरिकाले मास्क लगाऔं ।

-समयसमयमा साबुन पानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं ।

-भोजभतेर तथा पर्व घरमै मनाउँ ।

-भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।

-हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं

-चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गरौं ।

-धैर्य गरौं, संयमता अपनाऔं ।

-सावधान होऔं तर आतङ्कित नहोऔं ।