मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्ष ०७८/०७९ मा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याउन लागेको नीति तथा कार्यक्रमका सन्दर्भमा प्रदेशका सबै मन्त्रालयका सचिवलाई आवश्यक निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री पौडेलले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरूले कार्यान्वय गर्न सम्भाव्य नीतिको तर्जुमा गर्दा विशेष ध्यान दिनुपर्ने, अन्तरमन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने, बिगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्नुपर्ने र वर्तमान कोभिड-१९ को महामारीले पारेका असरहरूलाई सम्बोधन हुने गरी प्रदेश नीति तथा कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभयो।
त्यस्तै, प्रदेशको पहिलो आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटबीच तादम्य हुने गरी मात्र नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकोले यसमा ध्यान दिनसमेत उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।
त्यस्तै, मुख्यमन्त्रीका प्रमुख राजनीतिकतिक सल्लाहकार जे.एन. थपलियाले दोहोरो नपर्ने र जन जीविकासँग जोडिने कार्यक्रमको तर्जुमा हुनुपर्ने बताउँदै नीतिहरू कार्यान्वयन योग्य हुनुपर्ने निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द प्रसाद पौड्यालले बजेट, कार्यक्रम र नीति वीच अन्तर सम्बन्ध हुने भएकोले तीन वटै विषयहरुलाई सवै विषयगत मन्त्रालयहरूले ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्दा कुनै नयाँ नियम, कानून वा निर्देशिका आवश्यक पर्ने भएमा सवै विषयगत मन्त्रालयहरूले सो पहिल्याई अग्रिम रूपमा मस्यौदा तयार पार्दा कार्यान्वयमा सहज हुने वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सात वटै मन्त्रालयका सचिवहरूले नीति कार्यक्रमका सम्बन्धमा आ-आफ्नो भनाइहरू प्रस्तुत गर्नु भएको थियो ।








प्रतिक्रिया