अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी अध्यक्ष र राष्ट्रपति प्रस्ताव अस्वीकार गरेको थिए : अमिक शेरचन

पार्टी अध्यक्ष र राष्ट्रपति प्रस्ताव अस्वीकार गरेको थिए : अमिक शेरचन


पोखरा- गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताउनुभएको छ ।

प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान, नियम र कानूनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढेको स्पष्ट पार्नुभयो ।

आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा (एमाले) का अध्यक्ष र राष्ट्रपति डा. रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गर्नुभयो ।

माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराप्रति आफू सधैँ प्रतिबद्ध भएको तथा सिद्धान्त र निष्ठाको राजनीतिलाई निरन्तरता दिंँदै आएको धारणा उहाँले राख्नुभयो ।

राजनैतिक अस्थिरता र भ्रष्टाचार आदि बढ्दा देशलाई अघि बढ्न नदिने उहाँले स्पष्ट पार्नुभयो ।

कोरोना महामारीका परिस्थितिमा सम्पूर्ण राजनीतिक दलबीच साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले वर्तमान अवस्थामा पार्टीपार्टीबीचको फुट तथा पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाउन नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा सहयोग गर्ने प्रदेश सरकार, राजनीतिक दललगायत सम्पूर्णमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुखबाट मुक्त गरी सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।