अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको सदासयता ऐतिहासिक : देउवा

प्रधानमन्त्री ओलीको सदासयता ऐतिहासिक : देउवा


काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । आफूलाई भेट्न प्रधानमन्त्री ओली निवासमा आएको विषयमा देउवाले उहाँको प्रशंसा गर्नु भएको हो ।

देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रतिपक्षी दलको नेताको निवासमा आएर छलफल गर्नुलाई ऐतिहासिक भन्नुभएको छ । ‘प्रधानमन्त्रीले आज जुन सदासयता देखाउनुभयो यो ऐतिहासिक भयो,’ देउवाको भनाइ उधृत गर्दै तीन नेताले भन्नुभयो ।

प्रधानमन्त्री विपक्षी दलको नेताको घरमा पुगेर उहाँहरूसँग भेटघाट गर्दै देशको सिस्टमको पक्षमा कुरा गर्नुले सत्तापक्ष र प्रतिपक्षका बीचमा सौहार्दता बढाउने कांग्रेस नेता कृष्ण सिटौलाले बैठकमा राख्नुभएको थियो । ‘देश र जनताको हितको पक्षमा हामी मिलेर अगाडी बढौं भन्ने प्रस्ताव आउनु खुशीको कुरा हो,’ बैठकमा सिटौलाको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीले आफू प्रतिपक्षी दलको नेताको निवासमा आउनुलाई विश्वासको मत माग्न मात्र आएको रुपमा नबुझ्न आग्रह गर्नुभएको थियो ।

‘विश्वासको मत लिने र विश्वासको मत दिने कुरा अर्कै कुरा हो । तर, लामो समय देखि निरंकुशताका विरुद्ध लडेका कांग्रेस र एमाले राष्ट्रिय मुद्धामा एकैठाउँ हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै एमाले संसदीय दलका नेता सुवास नेम्वाङले भन्नुभयो, ‘विश्वासको मतका विषयमा तपाईंहरू आफ्नै ढंगले निर्णय गर्नुहोस । यसमा जे गरे पनि तपाईंहरुलाई मेरो धन्यवाद ।’

बालुवाटार स्रोतका अनुसार देउवा निवासमा जाने चाँजोपाँजो नेम्वाङले मिलाउनुभएको हो । ‘यो भेटका धेरै भित्री बाहिरी कुरा छैनन् खाली एउटा ‘कटेसी’ भेटघाट हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली बहस डटकमसँग भन्नुभयो ।