अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीले सुदृढ र एकतावद्ध एमाले चाहेका छौँ : माधव नेपाल

हामीले सुदृढ र एकतावद्ध एमाले चाहेका छौँ : माधव नेपाल


काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरूले सुदृढ र एकतावद्ध एमाले चाहेको बताउनुभएको छ ।

नेता नेपालले सामाजिक सञ्जालमार्फत सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउनुभएको हो । ‘किनकी यो हामीले निर्माण गरेको पार्टी हो, यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले भन्नुभएको छ ।

नेपालले गत फागुन २८ गते र त्यस पछि बसेका एमाले बैठक र त्यसले गरेका निर्णय फिर्ता लिनु पर्ने माग राख्नु भएको छ । साथै २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्वमा नै पार्टी फर्कनु पर्ने उहाँको अडान छ । ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं,’ नेपालले आग्रह गर्नु भएको हो ।

नेकपा एमालेको गत फागुन २८ गतेको बैठकले माओवादी छाडेर नेकपा एमालेमा आएका तत्कालीन नेकपाका केन्द्रीय सदस्यलाई एमाले केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको थियो । सो निर्णय खारेज गर्नुपर्ने लगायतको माग राखि एमालेको माधव गुटले पार्टीमा असहयोग गर्दै आएको छ ।

पार्टी निर्देशन विपरित पार्टीको समानान्तर कमिटी बनाउनेदेखि प्रदेश सभा निर्वाचनमा फ्लो क्रस गर्नेसम्मको काम माधव समूहले गरेको छ । यसैगरी प्रदेश सरकारलाई असफल गराउन नेपाल गुटका प्रदेश सभा सदस्यले राजीनामा समेत गरेका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा समेत पार्टीलाई असहयोग गर्ने तथा सरकाले लिन लागेको विश्वास मतको प्रस्तावलाई समेत असफल बनाउने माधव समूहले रणनीति बनाएको छ ।

तथापि माधव गुटका दोस्रो वरियताका नेताहरूले केहीदिन यतादेखि पार्टी एकताको लागि विभिन्न खालका भेटघाट र छलफल सुरू गरेका छन् । भेटघाटले संवादको वातावरण बनेको भए पनि निकास भने निस्किएको छैन ।