अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलले केही विकास गर्नु भएन, नपत्याए अछामका जनतालाई सोध्नुस् : सांसद बोगटी (अन्तर्वार्ता)

भीम रावलले केही विकास गर्नु भएन, नपत्याए अछामका जनतालाई सोध्नुस् : सांसद बोगटी (अन्तर्वार्ता)


काठमाडाैं- यज्ञबहादुर बोगटी सुदूरपश्चिमको अछाम जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । सुदूरपश्चिम कोभिड महामारी र एमाले भित्रको रडाको दुवैले यतिबेला चर्चामा छ ।

भारतसँग सिमाना जोडिएको कारण सुदूरपश्चिममा कोभिड संक्रमण दिनदिनै बढ्दै छ । कोभिडले पारेको प्रभावले सुदूरपश्चिम एकातिर चर्चामा छ भने एमाले भित्रको विवादको जड मानिनु भएका भिम रावल पनि अछाम क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य भएको कारण पनि सुदूरपश्चिम र अछाम चर्चामा छ ।

भीम रावलले नेपालमा बहुदलिय व्यवस्था आएदेखि नै सुदूरपश्चिमबाट कुनै न कुनै रूपमा प्रतिनिधित्व गर्नुभयो । लामोसमयदेखि नेपालको राजनीतिको केन्द्रमा रहेर काम गर्नुभयो । अनि लामो समयसम्म सांसद् र मन्त्री पनि हुनुभयो । यो अवधिमा अछामले चाहीँ के पायो ? अछाममा कोभिड नियन्त्रणको तयारी र विकासको अवस्था विषयमा अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीसँग गरिएको यो कुराकानी :

जिल्लामा कोभिड संक्रमणको अवस्था कस्तो छ ? त्यसको रोकथाम र नियन्त्रणको लागि अछामबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्को हैसियतले के गरिरहनु भएको छ ?

कोभिडको दोस्रो लहरको कारण अछाममा पनि भयावह अवस्था सिर्जना हुन लागेको छ । सुदूरपश्चिम प्रदेशको धेरे सम्बन्ध इण्डियासँग छ ।

सुदूरपश्चिमका विकट पहाडी जिल्ला हुन्- अछाम, बाजुरा र बझाङ । त्यस भित्र पनि मेरो निर्वाचन क्षेत्र अझ विकट छ । विकट क्षेत्र भए पनि मेरो दुई नं क्षेत्रमा अहिले नै डरलाग्दो अवस्था पनि बनि सकेको छैन, तर अवस्था सामान्य पनि छैन । यसलाई कन्ट्रोल गर्न सक्यो भने अवस्था सहज बन्छ, अन्यथा भयावह हुनसक्छ ।

म प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यका प्रमुख, निर्वाचन क्षेत्रका पालिकाका प्रमुखहरुसँग नियमित सम्पर्कमै छु । उहाँहरुसँग समन्वय गरिरहेको छु । आशा गरौँ, रोग नियन्त्रणमा आउने छ । मैले मेरो तर्फबाट पहल कदमी गरिरहेको छु ।

प्रदेश सरकारको भूमिका चाहिँ कस्तो छ नि ?

प्रदेश सरकारले जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरेको छैन । साँच्चै भन्ने हो भने प्रदेश सरकारले उदासिनता देखाएको छ ।

संघ सरकारले आवश्यक पर्ने स्वास्थ्य सामाग्रीदेखि लिएर बजेट समेत पठाएको छ । प्रदेशले पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको छैन । प्रदेश सरकारले पूर्वाग्रही भएर काम गरेको छ । यसको अन्त हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

प्रदेश सरकारमार्फत जति काम हुनुपर्थ्यो त्यो हुन सकेन भन्ने हो ?

हो, प्रदेशले काम गर्न सकेन । मैले हिजो मात्रै प्रदेशका सामाजिक विकास मन्त्रीसँग कुरा गरेँ । भेण्टिलेटर सहितको अछाम अस्पतालमा दुई बेडको व्यवस्था गर्ने भनेर नेपाल सरकारको नम्स अनुसार गत सालनै बेड स्थापना गरियो ।

अस्पताललाई भेण्टिलेटर मेशीन पनि दिइयो । तर, सञ्चालनमा आएको छैन । प्रदेशका मन्त्रीले त्यसको व्यवस्थापन गर्नुको सट्टा त्यो मेशीन सञ्चालन भएन भने धनगढी ल्याएर राख्छु भनेर गैरजिम्मेवार कुरा गर्नुभएको छ ।

स्थानीय सरकारले जिम्मेवार ढंगले काम गरेका छन् । संघीय सरकारले सहयोग गरेको छ । तर प्रदेशको भूमिका प्रभावकारी भएन ।

पहिलो कोभिडमा पनि प्रदेश सरकारको असक्षमताको कारण इण्डियाबाट आउने कति मानिस महाकालीमा हेलिएर बगे । प्रदेश सरकारकै कारण गत साल मानिसहरुको ज्यान गयो । अहिले पनि त्यही घटना क्रम दोहोर्याउँदै छ, त्यहाँको सरकार । प्रदेश सरकारको लापरबाहीका कारण अहिले पनि धेरै मानिसको ज्यान जान सक्छ ।

अछामको मंगलशेनमा प्रादेशीक अस्पताल छ । तर त्यो अस्पताललाई प्रदेश सरकारले कुनै सहयोग गरेको छैन । कमलबजारमा अस्पताल छ, त्यसमा पनि प्रदेशले खासै सहयोग गरेको छैन । बरु एनजीओले सञ्चालन गरेको वयलपाटा अस्पतालले धेरै काम गरको छ ।

कि प्रदेश सरकारले नसक्ने भएँ भनेर जिम्मा लगाउनु पर्‍यो । हामी केन्द्र सरकारसँग लडाईँ गरेर स्रोत साधन ल्याउँछौँ । ल्याउन सकिएन भने जनताको बीचमा गएर भनौँला । नभए जिम्मा लिनेले काम त गर्नु पर्यो नि त ।

समग्र राष्ट्रिय राजनीतिले चाहिँ कोभिड नियन्त्रणको काममा प्रभाव पारे जस्तो लाग्दैन ?

एकदम धेरै प्रभाव पारेको छ । अहिले कोभिडको मारमा जनता छन् । जनता त्रसित छन् । यो बेला सबै मिलेर जनताको लागि काम गर्नु पर्ने बेला हो ।

रातविरात जनताको फोन आउँछ । सहयोग गर्नुपर्‍यो, डाक्टरलाई भनिदिनु पर्‍यो भन्नुहुन्छ । विकट गाउँका मान्छेले फोन गर्नुहुन्छ । हामी मर्ने भयौँ, अस्पतालमा हामीलाई भर्ना छ कि छैन भन्नुहुन्छ । डाक्टरहरूलाई फोन गर्नुपर्छ । उहाँहरूले पनि ज्यान जोखिममा राखेर काम गरिरहनुभएको छ । तर, राष्ट्रिय राजनीतिले यसलाई अल्मल्याएको छ ।

भनेपछि जनताले कचकच र गाली राम्रै गर्ने गरेका छन्, होइन ?

हो, मलाई पनि गाली आएको छ । म त प्रतिनिधि सभा सदस्य भएको तीन वर्ष मात्रै भयो ।

१५/२० वर्षसम्म मन्त्री र माननीय भएका मान्छेलाई गाली हुँदैन । उहाँहरूलाई हाइहाई हुन्छ । म सांसद भएको तीन वर्ष भयो गाली किन खानुपर्ने ?

यज्ञ बोगटी जनताको लागि मर्न तयार छ । त्यसैले जनताले कचकच गर्छन्, गाली गर्छन् । जनताले भनेका हरेक कुरा गर्न म तयार छु ।

म अहिले पनि स्थानीय तहका जनप्रतिनिधिसँग नियमित सम्पर्कमा रहेर काम गरिहेको छु । यति गर्दा गर्दै पनि केही मानिसका नजर गलत छन्, त्यो मैले बुझेको छु ।

त्यहाँबाट तपाईँकै पार्टीको नेता भीम रावलले त लामोसमयसम्म केन्द्रमा राजनीति पहुँचसहितको नेतृत्व गर्नुभयो, त्यसको लाभ चाहिँ लिन सकेन अछामले ?

यो कुरा मलाई नसोध्नुस्, मलाईभन्दा पनि अछामका जनतालाई सोध्नुस् । तपाईँ साँच्चै खोज पत्रकारिता गर्ने हो भने अछामको रामारोशनको जनतालाई सोध्नुस् अछामले के पायो भनेर । सिउडी, सोकट र मल्लेखको एउटा गरिब परिवारमा गएर सोध्नुहोला । तुर्माखातको एउटा विकट गाउँमा जानुहोला, अनि के छ भन्ने कुरा त्यहाँबाट थाहा पाउनुहुन्छ ।