अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार गरिएको पीसीआर आज नेगेटिभ देखिएको हो ।

यहि २७ गते बस्ने संसद् बैठकलाई लक्षित गरी शुक्रबार स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको थियो ।

हालसम्म संघीय संसदका १९ जना सासदहरूसहित संसद् सचिवालयका ठूलो संख्यामा कर्मचारीलाई कोरोना देखिएको छ । सांसदलाई कोरोना देखिएपछि संसद् बैठक सञ्चालन हुने विषयमा शंसय उत्पन्न भएको छ ।

संघीय संसद् सचिवालयले २७ गतेको संसद् बैठकका लागि वैशाख २२, २३ र २४ गते सांसद, कर्मचारी, मर्यादापालक र पत्रकार गरी १ हजार २ सय ३५ जनाको कोरोना परीक्षण गरेकोमा १ सय ६० जनाको नतिजा पोजिटिभ आएको छ ।

यति ठूलो संख्यामा सांसद, कर्मचारी, मर्यादापालकहरू संक्रमित भएको अवस्थामा संसद् बैठक बस्ला वा सरकारले कुनै निर्णय गरेर यसलाई धेकेल्ला भन्ने प्रश्न उब्जिएको छ । २७ गतेको संसद् बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची छ । तर, संक्रमितहरूलाई कसरी मतदानमा सहभागी गराउने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।

संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डका अनुसार भोलि वा पर्सि संसद् सचिवालयको कार्य व्यवस्था समितिको बैठक बसेर यसबारेमा निर्णय गरिनेछ ।

‘संक्रमित माननियज्यूहरूले मत हाल्नु परेको खण्डमा वैकल्पिक व्यवस्था के गर्ने भनेर कार्यव्यवस्था समितिले सिफारिस गर्दछ । त्यसका आधारमा सभामुखज्यूले निर्णय गर्नु हुनेछ,’ डा. पाण्डेले नेपाली बहस डट कमसँग भन्नुभयो ।