अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले सरकारको विपक्षमा मतदान नगर्ने, ओली नै प्रधानमन्त्री हुने

जसपाले सरकारको विपक्षमा मतदान नगर्ने, ओली नै प्रधानमन्त्री हुने


काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले सरकार ढालेर प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सपना तत्काल साकार नहुने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले सरकारले लिन लागेको विश्वासको मत असफल गराई प्रधानमन्त्री बन्ने देउवाको इच्छामा जनता समाजवादी पार्टी अवरोध बनेको छ ।

त्यस्तै, केपी ओलीलाई सत्ताच्युत गरी नामोनिसान मेट्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेकै नेता माधव नेपाल लगायतको सपना फेरि टुट्ने देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले सरकारको पक्ष र विपक्षमा दुवै तर्फ मतदान नगर्ने भएको छ । जसपाको यो निर्णयसँगै देउवाको प्रधानमन्त्री बन्ने सपना तत्काललाई टुट्ने भएको छ भने प्रचण्ड र माधव नेपाललाई थप टाउको दुखाइ बन्ने भएको छ ।

सरकारको पक्षमा जाने कि विपक्षमा जाने भन्ने विवादमा फसेको जसपाले पार्टीलाई विभाजनमा जानबाट जोगाउन मध्यविन्दु खोजेको छ । अब जसपा भोलि हुने सरकारको विश्वासको मत माथिको मतदानमा अनुपस्थित हुने भएको छ ।

जसपा बैठकमा अनुपस्थित हुँदा सरकारलाई विश्वासको मत त प्राप्त हुने छैन नै तर शेरबहादुर देउवा वा अन्य कोही नेता पनि प्रधानमन्त्री हुन पाउनुहुने छैन ।

जसपा मतदानमा अनुपस्थित हुँदा सरकारलाई आवश्यक पर्ने बहुमत पुग्ने छैन । तर जसपाले समर्थन नगरेसम्म एमाले बाहेकको सरकार बन्नको लागि अन्य दललाई बहुमत पनि पुग्ने छैन । त्यस्तो अवस्थामा संसद्को सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले नेकपा एमाले र त्यसको ससदीय दलका नेता केपी शर्मा ओली नै पुनःप्रधानमन्त्री बन्नु हुने छ ।

आज देउवा निवास पुगेर जसपा अध्यक्ष महन्थ ठाकुर र नेता उपेन्द्र महतोले सरकारको विपक्षमा मतदान नगर्ने स्पष्ट पारिसक्नु भएको छ । जसपाले तत्काल अर्को वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताउँदै ओली नेतृत्वकै चुनावी सरकार बन्ने देउवालाई स्पष्ट पारेको छ ।

देउवालाई भेटेर प्रधानमन्त्री निवास पुग्नुभएका दुवै नेताले प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिन नसक्ने बताउनुभएको छ । तर ओली सरकारले जसपाको माग सम्बोधन गर्न सुरु गरेकोले सरकारको विपक्षमा पनि मतदान नगर्ने उहाँहरूले प्रष्ट पार्नु भएको छ ।

जसपाले भनेको जस्तै भूमिका निर्वाह गर्यो भने नेकपाको माधव नेपाल समूहका सांसद्ले सामूहिक राजीनामा गरे वा मतदानको बेलामा फ्लोर क्रस गरेपनि सरकारलाई कही फरक पर्दैन ।

विश्वासको मत प्राप्त नगरेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुने छ । त्यस पछि बहुमत पुर्‍याएर संयुक्त सरकार बनाउनको लागि राष्ट्रपतिले आह्वान गर्नु हुने छ । कुनै पनि दलले बहुमत पुर्याउन नसकेपछि संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता केपी ओलीलाई राष्ट्रपतिले पुनः प्रधानमन्त्री बनाउनु हुने छ ।

ओलीले सरकार बनाएपछि संसद्बाट विश्वासको मत लिनु पर्ने छ । त्यो विश्वसाको मत प्राप्त नभएपछि प्रतिनिधि सभा विघटन गर्ने छ र सोही सरकारले निर्वाचनको घोषणा गर्ने छ । ओली नेतृत्वको एमाले सरकारले नै निर्वाचन गराउने छ ।

यस अघि पुस ५ गते नै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गर्नुभएको थियो । सरकारले यही वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरिदिए पछि सरकारको निर्णय बदर भएको थियो ।

सम्भवतः वैशाख २७ पछि देश प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि गरेकै निर्णयमा फर्कने भएको छ ।