काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि संसद् भवन पुगिसक्नुभएको छ । संसदमा विश्वासको मत लिन लाग्नुभएका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुग्नु भएको हो ।
प्रधानमन्त्रीको विश्वासको मतमाथि छलफल र मतदान गर्न आज प्रतिनिधि सभा बैठक बसिरहेको हो । प्रधानमन्त्रीको तर्फबाट विश्वासको मत लिने प्रस्ताव सांसद् सचिवालयमा दर्ता भइसकेको छ ।
प्रतिनिधि सभामा विश्वासको मत जित्न कम्तिमा पनि १ सय ३४ मत आवश्यक पर्दछ । अहिले प्रतिनिधि सभामा सत्तारुढ दल नेकपा एमालेको १ सय २१ मत छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिईसकेको छ । जनता समाजवादी पार्टीले भने सांसदलाई ह्वीप जारी नगरी आत्मनिर्णय गर्न छाडिदिएको छ ।
सामान्य अवस्थामा सरकारलाई विश्वासको मत जित्न आवश्यक मत पुग्दैन । त्यसैले आजको मतदान पछि सरकार अल्पमतमा पर्ने देखिन्छ ।
नेकपा एमाले बाहेक अन्य राजनीतिक दलको पनि संसद्मा बहुमत पुग्ने अवस्था छैन । किनकि कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने पक्षमा जसपा भित्र एक मत छैन । यसर्थः फेरि पनि संसदको सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेकै सरकार बन्ने देखिन्छ ।
त्यस्तो अवस्था आयो भने ठूलो दलको हैसियतले बनेको एमाले सरकारले पुन : संसदमा विश्वासको मत लिनु पर्ने छ । यदि विश्वासको मत लिन नसके सोही सरकारले प्रतिनिधि सभा निर्वाचन घोषणा गरी ६ महिना भित्र देशमा नयाँ चुनाव हुने छ ।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले २०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री पद सम्हाल्नु भएको थियो । पछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उहाँ झण्डै दुईतिहाई मत नजिकको दलको प्रधानमन्त्री बन्नुभएको थियो ।
नेकपा भित्रको विवाद र सर्वोच्च अदालतको फैसलाले नेकपालाई विघटन गरी एमाले र माओवादीलाई पहिलाकै अवस्थामा फर्काइदिए पछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसले गर्दा सरकार अहिले अल्पमतमा परेको छ ।
माओवादीले समर्थन फिर्ता लिनु अघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।
प्रतिक्रिया