अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेका जनप्रतिनिधिका सवारीसाधन एम्बुलेन्स बनाइए

काभ्रेका जनप्रतिनिधिका सवारीसाधन एम्बुलेन्स बनाइए


काभ्रे- पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारीसाधनलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रूपमा प्रयोग गरिने भएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधानलाई सङ्क्रमितको उपचारमा प्रयाग गर्न एम्बुलेसको रुपमा सञ्चालन गरिने भएको हो ।

पाँचखाल नगरका प्रमुख खरेलले आफ्नो निजी गाडी ल्याण्डक्रुजरसमेत कोरोना सङ्क्रमणको उच्च जोखिमका समयमा पाँचखालका स्थानीयका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न सहमति दिनुभएको हो । ‘सङ्कटका बेला नगरवासीलाई सेवा उपलब्ध गराउनु जनप्रतिनिधिको कर्तव्य हो, मैले मेरो निजी गाडी र नगरका अन्य तीन गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न सहमति दिएको छु,’ खरेलले भन्नुभयो ।

पाँचखालका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय चढ्ने सरकारी गाडी एम्बुलेन्सका रुपमा आजदेखि प्रयोग हुनेछन् । साथै, भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले पनि आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिनुभएको छ ।

यस्तै, पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले पनि आफ्नो नीजि गाडी गृहनगर बनेपामा कोरोनाका बिरामी ओसार–पसार गर्न एम्बुलेन्स बनाउनुभएको छ । उहाँले काभ्रे अटो मेकानिक्स व्यवसायी सङ्घको सहकार्यमा ‘कोभिड–१९ एम्बुलेन्स’ बनाउनुभएको हो ।

यसैबीच, पाँचखाल नगर र भुम्लु गाउँपालिकाले संयुक्तरुपमा पाँचखालमा अक्सिजनसहित ५० बेडको आइसोलेशन व्यवस्थित गरेका छन् । दुवै तहका प्रमुखले आइसोलेशन सञ्चालनसम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गर्नुभएको छ । यसअघि नमोबुद्ध नगर र रोशी गाउँपालिकाले नमोबुद्धको भकुण्डेमा संयुक्त रुपमा ५० शय्याको आइसोलेशन सेन्टर बनाइसकेका छन् । साथै, पनौती नगरले २५ शय्या र धुलिखेल नगरले २५ शय्याको अक्सिजनसहितको आइसोलेशन तयार गरेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा ४० मा कोरोना सङ्क्रमण पुष्टी भएको छ भने पाँच जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरू भएयता हालसम्म काभ्रेपलाञ्चोकका कूल एक हजार ९९ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ४५१, धुलिखेलमा २०९, पनौतीमा २४५, पाँचखालमा ६८, नमोबुद्धमा ३०, मण्डनदेउपुरमा ३३ तथा रोशी गाउँपालिकामा १५, चौंरीदेउरालीमा आठ, तेमालमा सात, भुम्लु १३, खानीखोलामा दुई, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा चार सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ४१ दशमलब ३ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात एक हजार ५३ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ६३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रासस