अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले थप्यो कोभिड-१९ उपचारका लागि अस्पताल र शय्या

सरकारले थप्यो कोभिड-१९ उपचारका लागि अस्पताल र शय्या


काठमाडौं- सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ ।

सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आईसीयू १ हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।

प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौं उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा छ पसललाई जरिवाना गरिएको छ ।

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराउने अक्सिजनका ४ सय खाली सिलिण्डर लिन आज नेपाल वायुसेवा निगमको वाइड बडी जहाज जाँदै छ ।

नेपालमा अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर छ । चीन सरकारले उपलब्ध गराउने २० हजार सिलिण्डर आएपछि ३७ हजार ७६१ अक्सिजन सिलिण्डर पुग्ने छ ।

प्रवक्ता आचार्यले अलपत्र नागरिकलाई चार्टर गरेर उद्धार गरिएको जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, नेपालगञ्ज, लुक्ला र सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी आइतबार १४८ यात्रुलाई उद्धार गरिएको छ ।

यस्तै, उहाँले खोप, स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायतास्वरूप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका नेपालस्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिनुभयो ।