काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गर्नुभएको छ ।
संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग विश्वासको मत माग्नुभएको हो ।
‘सबै दलका सबै सांसदहरूसँग म विश्वासको मत दिन आग्रह गर्दछुु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई सर्वसम्मतरूपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भन्नुभयो, ‘तीन वर्षमा देशमा धेरै उपलब्धिहरू हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ? मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।’ प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उहाँले पार्टी अलग हुँदासमेत विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताउनुभयो ।
‘यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरूको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन ।’
वर्तमान समया कोभिड-१९ बाट नागरिकलाई बचाउनका लािग सरकार लागिरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले त्यसका लागि धेरै प्रयास भइरहेको र कोभिडलाई सहज पराजित गर्नका लागि दूरी कायम गरी बस्नसमेत आग्रह गर्नुभयो । ‘यो समय नागरिकलाई बचाउने समय हो, त्यस अभियानमा सबै जना लागौं,’ प्रधानमन्त्री ओलीले आग्रह गर्दै भन्नुभयो, ‘कोभिड नियन्त्रणको अभियानमा हामी फेरि पनि लागौं, सरकार कसको आउला, कसको बन्ला त्यो अलग कुरा हो ।’
‘समृद्ध नेपाल : सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न नेपालका सबै क्षेत्रको विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि युवा स्वरोजगार र महिला उत्थान कार्यक्रम बनाइएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार सडक बालबालिकामुक्त देश बनाउने बनाउने अभियानमा लागिरहेको र स्वास्थ्य बीमा कार्यक्रममा धेरै जनसंख्यालाई सहभागी गराउने दूरगामी कामसमेत गर्दै आएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया