काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिलाई बङ्ग्याएर गलत राजनीतिक प्रचार गरिएको बताउनुभएको छ । विश्वासको मत माग्ने प्रस्तावमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले मधेस आन्दोलनलाई ‘माखे साङ्लो’ भनेको भनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको खण्डन गर्नुभयो ।
‘नेपालको राजनीति माखे साङ्लो जस्तो भयो भनेको थिएँ । मान्छेलाई माखा भन्यो भनेर हल्ला चलाइयो । मैले त्यतिबेलै स्पष्ट पारे । माखे साङ्लो भनेको झिँगाको साङ्लो होइन । एक प्रकारको यन्त्र हो, त्यो जटिल हुन्छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै, प्रधानमन्त्री ओलीले छुद्र राजनीति नगर्न पनि आग्रह गर्नुभयो । ‘मैले केही आँप झरेर बोट खाली हुँदै भनेको थिएँ । मरेका शहीदलाई दुई/चार आँप झर्यो भन्यो भनेर तराईमा झूठो प्रचार गरियो । यस्तो छुद्र राजनीति नगरौं,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया