अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा घरघरमै संक्रमितको अवस्था बुझ्दै स्वास्थ्यकर्मी

झापामा घरघरमै संक्रमितको अवस्था बुझ्दै स्वास्थ्यकर्मी


झापा- झापा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले कोभिड-१९ का सङ्क्रमितका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । सङ्क्रमितको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य समस्या बुझ्न स्वाथ्यकर्मीले दैनिक फोन गर्ने र घरमै पुग्ने गरेका हुन् ।

सात वटा वडा रहेको पालिकामा यतिबेला ३८ जना सक्रिय सङ्क्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो ।

उहाँले होम आइसोलेसनमा रहेका प्रत्येक सङ्क्रमितका घरघर पुग्ने र उनीहरुलाई टेलिफोनबाट समेत परामर्श दिने गरेको बताउनुभयो । ‘अस्पतालमा भन्दा घरमै स्याहार हुन्छ, पोषिलो खानेकुरा र परिवारको हौसलाले पनि बिरामीको आधा बिमार निको हुन्छ,’ उहाँले भन्नुभयो, ‘थप समस्या आउन नदिन र अक्सिजनको मात्रा नाप्नका लागि हामी घरघर पुग्ने गरेका हौं ।’

यतिबेला पालिकामा एकजना एमवीवीएस डाक्टर, तीन जना सिनियर अहेबसहित पाँच स्वास्थ्यकर्मीले सङ्क्रमितको अवस्थाबारे बुझ्ने र घरमै पुगेर परामर्श दिने काम गरिरहेका छन् । यतिबेला वडा नम्बर ३, ४, ५ र ६ मा एउटै परिवारमा चारदेखि पाँच जनासम्म कोरोना सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमितको घरमा पुग्दा कतिपयको आर्थिक अवस्था नाजुक भएका कारण बिरामीलाई चाहिने प्रोटिन र भिटामिनयुक्त खानेकुराको अभाव समेत पाइएको बताउनुभयो । ‘सङ्क्रमितले मल्टिभिटामिनयुक्त झोलिलो र पोषिलो खानेकुरा खानुपर्छ,’ उहाँले भन्नुभयो, ‘कतिपयको घरमा अहिले खाए भरे के खाउ भन्ने अवस्था देखियो ।’

उहाँले भोलिदेखि नै विपन्न समुदायका सङ्क्रमित परिवारलाई मल्टिभिटानमिनयुक्त खानेकुराको समेत व्यवस्था गर्ने बताउनुभयो । प्रमुख विश्वकर्माले पोषिलो खानेकुराले प्रतिरोधात्मक क्षमता बढाउने हुँदा अति विपन्न परिवारका सङ्क्रमितलाई अण्डा, फलफूललगायत खानेकुरा वितरण गरिने बताउनुभयो ।

हाल आठ दिनदेखि वडा नम्बर ४ स्थित होम आइसोलेसनमा बस्नुभएका सुजन कोइराला र मस्ताफा अन्सारीले स्वास्थ्यकर्मीको व्यवहारले खुसी भएको बताउनुभयो । उहाँहरूले स्वास्थ्यमा समस्या भएको जानकारी गराउने वित्तिकै स्वाथ्यकर्मी औषधि लिएर घरमै आउने गरेको बताउनुभयो । ‘अरूतिर के छ थाहा छैन,’ मस्ताफा अन्सारीले भन्नुभयो, ‘दैनिक जसो पालिका स्वाथ्यकर्मीले मोवाइलमा फोन गरेर र घरमै भेट्न आएर स्वास्थ्य अवस्था बुझ्दा पनि आधा रोग निको भएको महशुस हुँदोरहेछ । मैले कोरोनालाई जितेको अनुभूति गर्न थालें ।’

उहाँका अनुसार स्वास्थ्यकर्मीले अक्सिमिटरद्घारा सङ्क्रमितको अक्सिजन नाप्ने, ज्वोरो हेर्ने र आवश्यकता अनुसार पारासिटामोल, भिटामिनलगायत दिने गरेका छन् । प्रमुख विश्वकर्माले यो पालिका भारतको विहारसँग सीमाना जोडिएको हुँदा थप जोखिम रहेको बताउनुभयो ।

उहाँले हाल कोरोनाको सङ्क्रमण छ छैन भनेर जाँच गर्ने एन्टीजोन नै सकिएको हुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले जिल्ला स्वाथ्य कार्यालय झापामा समेत एन्टीजोन नभएको जानकारी दिनुभयो । रासस