अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो पदाधिकारी बैठक, यी विषयमा हुँदैछ छलफल

कांग्रेसले बोलायो पदाधिकारी बैठक, यी विषयमा हुँदैछ छलफल


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।

बैठक ३ बजेको लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि संयुक्त सरकार बनाउन पहल सुरू गरेको कांग्रेसले अब कसरी अघि बढ्ने भन्ने विषयमा सल्लाह गर्न बैठक बोलाएको हो ।

यस अघि माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)र नेकपा एमालेको माधव गुटसँग छलफल गर्न लाग्नुभएका देउवाले सो छलफल स्थगित गरी पार्टीको बैठक बोलाउनु भएको छ । माओवादी र जसपाको समर्थन लिएर संयुक्त सरकार बनाउने सोचमा रहनु भएका देउवा जसपाको मत विभाजन भएपछि अप्ठेरोमा पर्नु भएको छ ।

जसपा अध्यक्ष मध्येका एक उपेन्द्र यादवले सोमबार माओवादी र कांग्रेससँग मिलेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने विज्ञप्ति मार्फत संयुक्त हस्ताक्षर गरे लगत्तै जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले जसपा वैकल्पिक सरकारको पक्षमा नरहेको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो । जसपाको तर्फबाट आधिकारिक धारणा राष्ट्पतिलाई बुझाउने ठाकुरले तयारी गर्दै हुनुहुन्छ ।

जसपाको महन्थ पक्षले मात्रै समर्थन नगर्दा पनि आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा अप्ठेरोमा पर्नुभएको छ । यस्तो अवस्थामा कांग्रेस नेतृत्वमा संयुक्त सरकार बन्ने सम्भावना देखिँदैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते भित्र संयुक्त सरकार गठनकोलागि आधार सहितको दाबी पेश गर्न आह्वान गर्नुभएको छ । सो अवधिमा संसद्मा विद्यमान सदस्य संख्याको बहुमत रहेको दाबी पेश गर्न नसके पुनः राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ ।

ओली प्रधानमन्त्री नियुक्त भएपछि एक महिना भित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने छ । यसरी बनेको प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसके प्रतिनिधि सभा भंग गरी निर्वाचनको घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।