आगामी तीन हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाधान्न दैनिक किन्ने नगरौं ।
पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दूरी कायम गरेर, हात साबुनपानी/स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ ।
यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।
बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थित गरौँ
कोरोना महामारी तीव्र गतिमा बढ्दैछ । संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ :
१. हरेक स्वास्थ्य संस्थामा अनिवार्य रूपमा ‘फिभर क्लिनिक’ संचालन गर्ने । हरेक नागरिकले पीसीआर पोजिटिभ आउनेबित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।
२. फिभर क्लिनिकमा Triage गर्ने । अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरू र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे/सिटिलगायतका परीक्षण गर्ने । कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर संक्रमितलाई अस्पतालसँग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।
३. यी ३ समुहमा जसलाई आईसीयूको आवश्यकता पर्छ, उहाँहरूलाई आईसीयूमा राखेर उपचार गर्ने ।
४. हरेक अस्पतालले कतिवटा बेड खाली छन्? आईसीयूमा कति बेड खाली छ? भेन्टिलेटर खाली भयो कि भएन? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय/सिसिएमसी, आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरणअनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।
५. समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने/गराउने वातावरण निर्माण गर्ने ।
६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने /गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने ।
७. संक्रमण नफैलिएका जिल्लाको औषधि/उपकरण/जनशक्तिलाई जीवनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने ।
८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ, अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने ।
९. जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।
१०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत (जस्तै: ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने । राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।
११. यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ । मानवताको उच्च उदाहरण बनौं ।
(यो सामग्री डा. पाण्डेको फेसबुकबाट साभार गरिएको हो )
प्रतिक्रिया