अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई रिजालको सुझाव– ‘जसपा र एमाले फुटाउँदा आफ्नै हालत होला…’

देउवालाई रिजालको सुझाव– ‘जसपा र एमाले फुटाउँदा आफ्नै हालत होला…’


काठमाडौं– एमाले नेता विष्णु रिजालले जसपा र एमाले फुटाउँदा कांग्रेसको नै हालत हुने भन्दै सोच्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । उहाँले देउवालाई प्रजातन्त्र बदनाम बनाएको कालखण्ड नदोहोर्‍याउन अपिल गर्नुभयो ।

‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयँ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो,’ उहाँले लेख्नुभएको छ, ‘किनकि, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन ।’

रिजालले देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम रहेको स्मरण गराउनुभएको छ । ‘अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार ०५३ मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो,’ उहाँको भनाइ छ, ‘चारपटक प्रधानमन्त्री भइसक्नुभएका र आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बदनाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ?’