काठमाडौं– एमालेले तत्कालै कुनै निर्णय लिनुपरे अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ ।
स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टी एकताकोरक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड संक्रमणका कारण भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरुबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया