काठमाडौं- तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेकपा एमालेका प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङले स्थायी कमिटीले चार नेतामाथिको कारबाही फुकुवा गरेको खबरलाई सकारात्मक मान्नुपर्ने बताउनुभएको छ ।
एमालेको माधव गुटमा खुल्नु भएका सांसद खापुङले बास्तवमा पार्टी मिलाउने गरी यो निर्णय गरिएको भए स्वागत योग्य भएको बताउनुभयो । ‘अन्तिम घडीमा जालझेल गर्ने गरी आएको भए अलग कुरा हो’, उहाँले भन्नुभयो ।
एमालेलाई एकतावद्ध बनाउन अदालतको फैसलाअनुसार पार्टीलाई पहिलेको अवस्थामा फर्काउनु पर्छ भन्ने भए पनि कारबाही फुकुवाले त्यसको लागि बाटो खोल्न सक्ने उहाँको भनाइ छ ।
केही लागेन भने मात्र सांसद पदबाट राजीनामा दिने कुरा भएको उहाँले बताउनुभयो । ‘त्यस्तै पर्यो भने राजीनामा दिने भन्ने कुरा हो, नेताहरू छलफल मै हुनुहुन्छ, त्यसले के निर्णय गर्छ त्यही अनुसार हुन्छ’, खापुङले भन्नुभयो ।
उहाँले पार्टी एकताको पक्षमा कसैको पनि विमति नभएको बताउनुभयो । तर सबैको आत्मासम्मानको कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया