काठमाडौं– झापा क्षेत्र नं २ बाट निर्वाचित एमाले सांसद् पवित्रा निरौला खरेलले पनि राजीनामा अस्वीकार गर्नुभएको छ ।
पार्टीको सरकार हुँदाहुँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन नसकिने खरेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन, देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्नँ ।’
नेकपा एमालेको माधव गुटमा खुल्नुभएकी सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नि,’ उहाँको भनाइ छ ।
राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनु भएको खरेलले बताउनुभयो । ‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न’– खरेलले प्रष्ट रुपमा बताउनुभयो ।
अझै पनि पार्टी अध्यक्षले सबैलाई एक ठाउँमा राखेर छलफल थाल्नुपर्ने र निकास खोज्नु्पर्ने उहाँले बताउनुभयो । पार्टी एक ढिक्का बनाउनुमा नै सबैको भलाइ हुने खरेलको सुझाव छ । उहाँले भन्नुभयो– ‘मैले एमाले पार्टी बिनाको राजनीति कल्पना पनि गरेको छैन, मसँग राजीनामाको विषयमा कसैले छलफल पनि गरेको छैन, राजीनामा कुनै हालतमा दिन्न ।’
माधव समूहका सुनसरी– १ बाट निर्वाचित जयकुमार राईले पनि राजीनामा अस्वीकार गर्नुभएको थियो ।
प्रतिक्रिया