अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी सरकार असफल, देउवाको एकल प्रयास व्यर्थ, प्रचण्ड निष्क्रिय

विपक्षी सरकार असफल, देउवाको एकल प्रयास व्यर्थ, प्रचण्ड निष्क्रिय


काठमाडौं– अन्ततः विपक्षी दलको सरकार बनाउने कसरत असफल भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेपछि विपक्षी सरकार बनाउने प्रयास असफल भएको हो । देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गर्नुभएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताउनुभएको थियो । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उहाँले स्पष्ट पारेको स्रोतको भनाइ छ । देउवाका स्वकीय सचिव भानु देउवाले भने ठाकुरले पार्टीमा छलफल गरेर जवाफ दिने भनेको दाबी गर्नुभयो ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दललाई सरकार बनाउने दिएको समयसीमा सकिने अन्तिम दिन बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निष्क्रिय रहनुभएको छ । प्रचण्डको योजनामा माधव नेपाल समूहले दिने भनेको राजीनामा टरेपछि प्रचण्ड बिहान कुनै छलफलमा भेटिनुभएन । तर दिउँसो प्रचण्ड देउवालाई भेट्ने बुढानिलकण्ठ पुग्नुभएको थियो ।

एमालेका कम्तिमा २० जनालाई राजीनामा गराएर जसपा मिलाउने अन्तिम प्रयास असफल भएपछि पुनः केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने भएको छ । सम्भवतः राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने शुक्रबार बिहान शपथको कार्यक्रम हुनेछ ।