अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मस्कटबाट ६ सय अक्सिजन सिलिण्डर ल्याइने

मस्कटबाट ६ सय अक्सिजन सिलिण्डर ल्याइने


काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट छ सय थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरूप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करिब ४ सय थान अक्सिजन कन्सन्ट्रटर ४ सय थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्‍याउन कठिन भएका बेला संस्थाले चीनबाट १ सय अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पुर्‍याउने प्रयासमा रहेको जनाउनुभएको छ ।

ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उहाँले बताउनुभयो । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ ।

नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०-१२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।