अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव पक्षका सांसदले दिएनन् राजीनामा

माधव पक्षका सांसदले दिएनन् राजीनामा


काठमाडौं- नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्षका सांसदहरूले राजीनामा दिएनन् । आज अपरान्ह पाँच बजेसम्म राजीनामा दिने बताएको सो समूहले ६ बज्दासमेत राजीनामा दिएका छैनन् ।

माधव खेमाले राजीनामा दिने भन्दै संस्थापन केपी शर्मा ओली पक्षलाई दवाब दिँदै आएको थियो । माधव पक्षका सांसद्ले राजीनामा दिँदा प्रतिनिधि सभामा कायम रहेका कूल सांसद्को संख्या घट्छ । त्यसपछि थोरै संख्याले बहुमत जुटाउन सम्भव हुन्छ भन्ने आकलन गरिएको थियो ।

आज अपरान्ह पाँच बजेसम्म माधव खेमाका सांसद्ले संसद् सचिवालयमा गएर सभामुख अग्निप्रसाद सापकोटा समक्ष राजीनामा नबुझाएपछि राजीनामा टरेको हो ।

स्रोत अनुसार राजीनामा आउनसक्ने सम्भावनालाई ध्यानमा राखेर सभामुख अग्नि सापकोटा माधव खेमाको निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो । राजीनामा आउनासाथ स्वीकृत गर्ने, त्यसको विवरण तत्कालै निर्वाचन आयोग र राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाउने योजना रहेको थियो । यद्यपी सांसद्ले राजीनामा दिँदा त्यसको जानकारी राष्ट्रपतिकोमा पठाउन पर्दैन, निर्वाचन आयोगमा पठाए पुग्छ । तैपनि सत्ताको खेलमा सजिलो पार्न राष्ट्रपतिलाई राजीनामा दिएको र सांसद पद रिक्त भएको जानकारी पठाउने तयारी रहेको थियो ।

माधव पक्षका मुख्य केही नेताहरु राजीनामा दिने पक्षमा भए पनि अधिकांश सांसद्हरु राजीनामा दिएर एमालेको सरकार भत्काउने पक्षमा उभिएनन् । बहुमत सांसद्ले राजीनामा दिन नमानेपछि रणनीति परिवर्तन गर्न माधव पक्ष बाध्य भएको हो ।