अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगामा अक्सिजन उत्पादन सुरू

ओखलढुंगामा अक्सिजन उत्पादन सुरू


ओखलढुंगा- ओखलढुंगामा अक्सिजन उत्पादन सुरू भएको छ । देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा ओखलढुंगामा यसको व्यवस्थापन सुरू गरिएको हो ।

ओखलढुंगा सामुदायिक अस्पतालले दुई वर्षदेखि मिनिप्लान्ट सञ्चालन गर्दै आएको छ । यसबाट दैनिक आठ सिलिण्डरसम्म भर्न सकिने भएकाले जिल्लामा सहज भएको अस्पतालका निर्देशक युवराज आचार्यले बताउनुभयो ।

अस्पतालमा हाल ४० वटा सिलिण्डर रहेका छन् । ती सिलिण्डर भरेर संचित राख्ने तथा जिल्ला बाहिरबाट समेत मगाएर राख्ने तयारी थालिएको निर्देशक आचार्यको भनाई छ । उत्पादनलले ओखलढुंगा जिल्लासहित छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने यो प्रदेशकै पहिलो अस्पताल हो ।
जिल्लामा उद्योग वाणिज्य संघले २५ थान खरिद गरेर भर्न पठाएको छ ।

संघको कार्यालयमा अक्सिजन सहितको आइसोलेशन निर्माण थालिएको छ । संघको कार्यालयमा १० श्यया अक्सिजनसहितका हुनेछन् । संकटको अवस्थामा संघको भवनलाई आइसोलेशन वार्डका रुपमा विकास गर्न लागिएको अध्यक्ष ज्ञानेन्द मास्केले बताउनुभयो ।

जिल्ला अस्पताल रुम्जाटारमा रहेका १९ थान सिलिन्डरमा समेत अक्सिजन भरेर तयारी राख्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

जिल्लामै उत्पादन हुने भएकाले अत्यावश्यक अवस्थामा अक्सिजन अभाव हुन नदिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो ।

ओखलढुंगा सामुदायिक अस्पताल तथा सांसदको पहलमा २०७४ सालदेखि जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा छ । सङ्घीय सांसद यज्ञराज सुनुवारले अक्सिजन प्लान्ट उद्घाटन गरेर कार्यकाल सुरू गर्नुभएको थियो । उहाँले अघिल्लो कार्यकालमा प्लान्ट स्थापनाका लागि बजेट विनियोजन समेत गराउनुभएको थियो ।