अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महन्थसँग निर्णायक वार्ता गर्न उपेन्द्र समूहले बनायो टोली

महन्थसँग निर्णायक वार्ता गर्न उपेन्द्र समूहले बनायो टोली


काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुुराम समूहले महन्थ समूहसँग निर्णायक वार्ता गर्ने भएको छ ।

सो समूहको आज बसेको बैठकले पार्टीको विषयमा महन्थ ठाकुर तथा राजेन्द्र महतोसँग निर्णायक छलफल गर्ने निर्णय गरेको जसपाका सांसद तथा उपेन्द्र यादव पक्षका नेता मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो ।

उहाँले महन्थ ठाकुर पक्षले विधान विपरित वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेको प्रचार गरेको भन्दै बैठकले आलोचना गरेको उहाँले बताउनुभयो ।

‘त्यो मिल्दै नमिल्ने कुरा हो, पार्टी समायोजन नै नभएको, संसदीय दलको विधान नै नबनेको अवस्थामा उहाँलाई संसदीय दलको नेता बनाएको भनि गरेको प्रचारको खण्डन गरियो,’ राईले भन्नुभयो ।

अब पार्टीमा दुई धार नचल्ने बताउँदै उहाँले महन्थ समूहसँग निर्णायक वार्ता गर्ने निर्णय भएको बताउनुभयो । कार्यकारी समितिको बैठक बोलाएर जसको मुद्दा बैठकले पास गर्छ त्यसैलाई लिएर अघि बढ्ने भन्ने विषयमा ठाकुर पक्षसँग कुरा हुने उहाँले बताउनुभयो । ‘जसले बोकेको मुद्दा कार्यकारिणी समितिले पास गर्छ, त्यसैलाई बोकेर अघि बढ्ने हो,’ उहाँले भन्नुभयो ।

यसको लागि महन्थ-राजेन्द्रसँग वार्ता गर्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई र राजेन्द्र श्रेष्ठलाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । उहाँले केन्द्रीय समितिको पनि जुम बैठक आयोजना गर्ने निर्णय भएको बताउनुभयो । जुम बैठकबाट पार्टीको रणनीति बनाउने उहाँको भनाइ छ ।

जुम बैठक हुनु अघि महन्थ-उपेन्द्रसँग प्रष्ट कुरा गरे अघि बढ्ने उहाँले बताउनुभयो । उहाँहरुले सहकार्य र सहमतिकै आधारमा अघि बढ्न चाहनुभयो भने ठीक हो, नत्र अर्कै हिसाबले जाने भन्ने कुरा हो,’ राईले भन्नुभयो ।

उपेन्द्र पक्षले आज राखेको बैठक अवैध भएको भन्दै महन्थ ठाकुरले विज्ञप्ति नै जारी गर्नुभएको थियो । जनता समाजवादी पार्टी नेपालले आज कुनै बैठक नराखेको ठाकुरले दिउँसो विज्ञप्ति जारी गरी जानकारी गराउनुभएको थियो ।

वर्तमान सरकारको पक्षमा उभिने वा नउभिने भन्ने विषयमा जसपामा विवाद छ । महन्थ पक्ष सरकारको पक्षमा छ भने उपेन्द्र-बाबुराम समूह कांग्रेस-माओवादी पक्षमा लागेको छ ।