काठमाडौं- ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।
सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ३४ दशमलव सात प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।
सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार पाँच लाख ७४ हजार २०३ जनाले एन्ड्रोइड फोनमा एप डाउनलोड गरेका छन् । यस्तै ५२ हजार ८५९ बढीले आइफोन (आइएसओ) र पाँच हजारभन्दा बढीले क्युआर कोर्ड स्क्यान गरेका छन् ।
एप डाउनलोड गर्नेको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भए पनि प्रमाणीकरण गर्नेको सङ्ख्या न्यून रहेको छ । हालसम्म चार लाख १८ हजार १८८ जनाको अर्थात् ६५ दशमलव तीन प्रतिशत प्रमाणीकरण भएको छैन भने दुई लाख २२ हजार ३१५ जना अर्थात् ३४ दशमलव सात प्रतिशत मात्र प्रमाणीकरण भएको छ ।
उक्त एप डाउनलोड भए पनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । केन्द्रमा एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासँगै टेलिफोनबाट धेरै प्रयोगकर्ताको गुनासो आउने गरेको छ ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेको जस्ता गुनासो आउने गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको जस्ता गुनासो गर्ने गरेका छन् ।
गत माघ २ गते बेटा भर्सनका रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।
पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ ।
प्रतिक्रिया