अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटमा थप तीन कोरोना संक्रमितको मृत्यु

नुवाकोटमा थप तीन कोरोना संक्रमितको मृत्यु


नुवाकोट- नुवाकोटमा आज तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा-४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा-५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित भएर उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको हो ।

यस्तै, शिवपुरी गापा-४ सिक्रेमा कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ । आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आज बिहान मृत्यु भएको सोही वडाका वडाध्यक्ष झमकराज गुरुङले जानकारी दिनुभयो ।

नुवाकोटभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ ।