काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज साँझ ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।
‘वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ । गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ ।
कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार ८३ वर्षको उमेरमा निधन भएको हो ।
दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आउनुभएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको थुमआरुखर्कमा भएको थियो ।
‘परिवर्तन’ सिनेमाको पटकथा र गीत लेख्नुभएका कार्कीले विश्वास, भूमरी र पहिलो प्रेम सिनेमा निर्देशनसमेत गर्नु भएको थियो ।
उहाँ ‘दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन’, ‘तीजको रहर’, ‘माया पिरतीको चोखो कथा’, ‘छोरीको जन्म हारेको कर्म’, ‘बैनीको दया छ’ भने जस्ता चर्चित गीतका रचनाकारसमेत हुनुहुन्थ्यो ।
उहाँका दुई छोरा तथा श्रीमती हुनुहुन्छ ।







प्रतिक्रिया