अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता तथा साहित्यकार खत्रीको निधन

एमाले नेता तथा साहित्यकार खत्रीको निधन


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ ।

सूर्यविनायक नगरपालिका-९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौं, बानेश्वर बस्दै आउनुभएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरू गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति हुनुभएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आउनु भएको थियो ।

विसं १९९२ जेठ १० गते नखेल, शान्ति गाउँमा जन्मिनुभएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय हुनुहुन्थ्यो। भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उहाँले योगदान दिनुभएको छ ।

भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पु र्‍याउनुभएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो ।

जनजागरण निबन्ध संग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथा संग्रह र किशोर निबन्ध संग्रह), ए बाउ घर छोडी जाऊ (गीतिकवितासंग्रह), हामी अब गर्छौँ (लघुकाव्य), परिवर्तित पाइला (नाटक), खुलाल खत्रीको खोज (अनुसन्धानात्मक पुस्तक) लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उहाँका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।

सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आउनुभएका खत्रीलाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मानसमेत गर्नु भएको थियो । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ ।