अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोरजी प्रविधिअन्तर्गत ‘भोल्ट’ सेवा सञ्चालनमा ल्याउँदै टेलिकम

फोरजी प्रविधिअन्तर्गत ‘भोल्ट’ सेवा सञ्चालनमा ल्याउँदै टेलिकम


काठमाडौं- नेपाल टेलिकमले फोरजीमा ‘एलटीई’ प्रविधिअन्तर्गत ‘भोल्ट (भ्वाइस ओभर लङ टर्म इभोलुसन) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा ‘भोल्ट’ सेवाको परीक्षण सुरुवात गर्न लागिएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले ‘भोल्ट’ सपोर्ट गर्ने आफ्नो मोबाइलबाट स्टार४४४ह्याच’ डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा ‘भोल्ट’ एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई ‘भोल्ट’ कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा ‘भोल्ट’को संकेत देखापर्दछ ।

‘भोल्ट’को संकेत देखापरेपछि स्टार१११ह्याच’ डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट ‘भोल्ट’ भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले ‘भोल्ट’ सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी, यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा लिंक मा इमेल पठाउन पनि सकिन्छ ।