अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण


काठमाडौं । कोभिड-१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उहाँले आज हस्तान्तरण गरेको हो ।

सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरणलगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका बिरामीका लागि सूर्यविनायक नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन लागेको बताउँदै सांसद बस्नेतले उपचार तथा सुविधा अभावका कारणले यहाँका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख थापाले नगरका जनताको जीवन रक्षाका लागि आफू अरोरात्र खटिरहेको बताउँदै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या आउन नदिने दाबी गर्नुभयो । उहाँले सांसद बस्नेत र आफ्नो पहलमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आउन लागेको बताउँदै कोरोना सङ्क्रमितको उपचारलाई उच्च प्राथमिकतामा राखेर सेवा दिने बताउनुभयो ।

भक्तपुरका जनताले चौबिसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, योयो युनिटी भक्तपुर, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर र ब्लोडान, भक्तपुरको संयुक्त सहकार्यमा भक्तपुरका बासिन्दाका लागि निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना लगायतका अन्य बिरामीलाई अस्पताल पु¥याउने सेवाका लागि चौबिसै घण्टा सञ्चालन गर्ने गरी निःशुल्क एम्बलेन्स सेवा शुरु गरेको योयो युनिटीले जानकारी दिएको छ । एम्बुलेन्स चाहिएमा ९८६१८५४९८२ मा सम्पर्क गर्न सक्नेछ ।

कोरोना सङ्क्रमित बिरामीका लागि सेवा दिन भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय समितिले अक्सिजनसहितका एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

कोरोना सङ्क्रमणका बेलामा पनि सङ्क्रमितले सहज रूपमा एम्बुलेन्स नपाएको गुनासो आएकाले चौबिसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बलेन्स चाहिएमा ९८६१७५६४६१ मा सम्पर्क गर्न समिनिले आग्रह गरेको छ ।