अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गरिँदै, हिउँ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र

छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गरिँदै, हिउँ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र


दार्चुला- व्यास गाउँपालिका­-१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो ।

व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो । पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ ।

प्रदेश सरकारको रु ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ । उहाँले भन्नुभयो, “यो क्षेत्रमा पञ्चायतकालमा छाङ्गरुको स्थानीय कालापानी भएर तिब्बत व्यापारमा जाने बाटो हो । त्यो बेला यो क्षेत्रमा फराकिलो र घोरेटो बाटो थियो । भत्किएका केही ठाउँमा नयाँ बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले यो बाटो विगतकै जस्तो चौडा बाटो निर्माण भइरहेको छ ।”

विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ । तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे । नेपालले आफ्नो भूमि भएको दाबी गर्दैै नक्सा प्रकाशन गरेपछि भारतले झन नेपालको भूमि मिचेर अगाडि बढेको उहाँको भनाइ छ ।

‘हाम्रा बुबा बाजेहरू चीनको तिब्बत जाने, घोडा खच्चड लिएर हिड्ने पुख्र्यौली बाटो यहि हो,’ व्यास-१ का विमल बोहराले भन्नुभयो, ‘ठाउँ-ठाउँमा अहिले पनि खच्चड बस्ने पडाउहरू छन् । भत्किएका घरहरू अहिले पनि देखिन्छन् । अहिले भारतले माथिल्लो कौवाभन्दा माथि जान रोक लगाएको छ ।’

निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ । वडाध्यक्ष बोहरा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका डिएसपी धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही सिमयअघि घोरेटो बाटोको अनुगमन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विषेश प्याकेज ल्याउने घोषणा गर्नुभएको थियो ।

हिउ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र प्रहरी

व्यासमा हिउ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो । नम्बर ५० गुल्म प्रमुख शाहको नेतृत्वमा यसै साता माथिल्लो कौवा र कालापानी क्षेत्र वरपर गस्ती गरिएको छ ।

नेपालको सशस्त्र प्रहरीले कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । सशस्त्र प्रहरी छाङ्गरुको गागामा छ । गागाबाट कालापानीसम्म पुग्न १४ किलोमिटर दूरी पर्दछ । कालापानीभन्दा ३०० मिटर नजिककै गस्ती गर्ने गरेका छौंँ, व्यासमा कार्यरत एक सुरक्षाकर्मीले भन्नुभयो ।

गागामा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गर्ने गरेका छन् । सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो ।

छाङ्गरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिदेखि भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरू गरेको हो । यो वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना व्यासको छाङ्गरुमा बसेको थियो । रासस