अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका सेल्टरदाता इङनामको निधन

प्रधानमन्त्रीका सेल्टरदाता इङनामको निधन


दमक -प्रधानमन्त्री केपी शर्मा ओलीका भूमिगतकालका सेल्टरदाता मोती इङनामको आज निधन भएको छ ।

ओलीले राजनीतिक जीवनको सुरुवाती चरणमै दमकको बाह्रघरेस्थित इङनामको घरमा सेल्टर लिएर वरपर संगठन गर्न हिड्नुहुन्थ्यो । राष्ट्रिय सभाका सदस्य एवं एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार २०२७/०२८ सालतिर ओलीले इङनामको घरलाई सेल्टर बनाएर दमक क्षेत्रमा तत्कालिन कम्यूनिष्ट पार्टीको संगठन बिस्तार गर्नुभएको हो । ‘उहाँहरु पहाड तेह्रथुमका पनि छिमेकी हुनुहुँदो रहेछ । त्यसले गर्दा पनि मोतीजीकोमा बस्न उहाँलाई सजिलो पनि भयो,’ दाहालले भन्नुभयो, ‘अहिले पनि प्रधानमन्त्री बाह्रघरेतिर जाँदा मेरो सेल्टरको अवस्था कस्तो छ भनेर चासो लिनुहुन्छ ।’

दमक नगरपालिका वडा नं १० का अध्यक्ष बोधराज नेउपानेका अनुसार २०२५ सालमा इङनाम गौरादह पञ्चायतमा सचिव हुनुहुन्थ्यो । तर उहाँ वामपन्थी बिचारक पनि हुनुहुन्थ्यो । ‘केपी ओली त्यसबेला गौरादहमा सेल्टर लिएर बसेको हुनुहुँदो रहेछ,’ नेउपानेले नेपाली बहस डट कमसँग भन्नुभयो ‘मोतीजीले उहाँलाई दमकको साविक वडा नं १७ मा ल्याउने लैजाने गर्नुहुँदो रहेछ । पछि २०२५ साल देखि २०२७ सालसम्मका १८ महिना मोतीजीको घरमा सेल्टर लिएर बस्नु भएको हो ।’

तस्बिर सौजन्यः सिताराम निरौला

नेउपानेका अनुसार ओलीसँगै भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, कमल कोइराला लगायतका नेताहरु पनि त्यही घरमा सेल्टर बस्नुभएको हो ।

इङनाम अहिले प्रधानमन्त्री कै छिमेक दमक ५ का बासिन्दा हुनुहुन्थ्यो । उहाँ २०५४ को निर्वाचनमा दमक नगरपालिकाको तत्कालिन वडा नं १० को अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

प्रदेशसभा सदस्य अर्जुन राईका अनुसार इङनाम फोक्सो सम्बन्धी बिरामी हुनुहुन्थ्यो । उहाँको विर्तासिटी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । केहीदन पहिलो उहाँ कोरोना संक्रमणबाट मुक्त हुनुभएको थियो ।