अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किन स्थगित भयो एमाले कार्यदल बैठक ?

किन स्थगित भयो एमाले कार्यदल बैठक ?


काठमाडौं– राष्ट्रिय सभाको निर्वाचनको पूर्व सन्ध्यामा हुन लागेको एमाले कार्यदलको बैठक अचानक स्थगित भएको छ । धेरैलाई आशा थियो, आजको कार्यदलको बैठकले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई सबैले मतदान गर्ने माहोल बनाउनेछ ।

साँझ सात बजेलाई राखिएको बैठक पनि स्थगित भएपछि एमालेजनमा फेरि एउटा चिन्ता छाएको छ । निर्माण हुँदै गरेको एकताको माहोल फेरि भाँडिएको हो कि ? वा भोलिको निर्वाचनमा माधव नेपाल पक्षीय मतदाताहरुले सूर्य चिन्हमा भोट नहाल्लान् कि ? नेपाली बहस डट कमले यी दुवै प्रश्न वार्ता टोलीका एकजना सदस्य सुवासचन्द्र नेम्वाङलाई सोधेको छ ।

कार्यदलको बैठक नबसेको कारण पार्टी एकता बिथोलिएको भनेर बुझ्नु नपर्ने नेम्वाङले बताउनुभयो । हिजोको कार्यदलको बैठकले एउटा कार्यविधि बनाएको र त्यसको पालना स्वरुप आजको बैठक स्थगित भएको जानकारी दिनुभएको छ । ‘हामीले कार्यदलका सबै सदस्यको उपस्थितिमा मात्र बैठक बस्ने र हरेक निर्णयहरु सर्वसम्मत गर्ने निर्णय गरेका छौं,’ नेम्वाङले भन्नुभयो, ‘आजको बैठकमा शंकर पोखरेल बुटवलबाट आइपुग्न भ्याउनु भएन । विष्णु पौडेल बजेटको तयारीमा लाग्दा समय निकाल्न सक्नुभएन । त्यसैले भोलि साँझ पाँच बजे सबैको समय मिलाएर बैठक बस्छ । पार्टी एकताका लागि सर्वसम्मत निर्णय पनि हुन्छ ।’

एमालेको भोट सूर्य चिन्हमा
नेम्वाङले भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा एमाले मतदाताको सबै मत सूर्य चिन्हमा झर्ने नेम्वाङले बताउनुभयो । हिजोको कार्यदलको बैठकले नै सबैले सूर्य चिन्हमा मत दिने निर्णय गरेको उहाँले खुलासा गर्नुभयो । ‘जहाँसम्म माधव कमरेडले विवेक प्रयोग गर्न भन्नुभयो भन्ने कुरा छ त्यसमा मलाई विश्वास छैन । मेरो आदरणीय नेताले त्यसो भन्नुभयो भनेर म विश्वासै गर्न सक्दिन,’ उहाँले भन्नुभयो ।

नेम्वाङको भनाइ जस्ताको तस्तै–
एमाले मतदाताले सूर्य चिन्हमा भोट नहाल्ने भन्ने प्रश्नै नगर्नुहोस् । पार्टीको विरुद्ध भोट हाल्नु भनेको जघन्य अपराध हो नि । त्यसकारण कसैले जघन्य अपराध गर्दैनन् । संसदीय प्रणालीमा पार्टीकोविरुद्ध भोट हाल्नु भनेको त्यसलाई कन्डेम गर्नका लागि शब्दै छैन । त्यति सारो गलत मानिन्छ । त्यो त संसदीय प्रणालीमा कालो धब्बा हो । त्यसैले गर्दा कसैले पनि सूर्य चिन्ह छोडेर अन्त जान्छन् भन्नेमा मलाई विश्वासै छैन ।