अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश : नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

गण्डकी प्रदेश : नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

रासस
46
Shares

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू-संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उहाँले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कोरोना महामहारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेशमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्नेतर्फ सरकार क्रियाशील बन्ने उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाको चरणमा रहेको हुनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनाबाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनीकरण र आर्थिक समृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवं सामाजिक आर्थिकरूपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशीलता विकासका लागि व्यावसायिक, सीपमूलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यक्रम समुदायमा आधारित वनको संरक्षण, उत्पादन वृद्धि र संस्थागत सृदृढीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो ।

पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीले मन्त्री लम्साललाई स्वागत गर्नुभएको थियो ।