अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध


गाजा सिटी- इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरू गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।

गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिक कारबाहीलाई निरन्तरता दिनु भएको छ । पछिल्लो युद्ध सु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

बिहीबार सबेरै गाजा शहरलाई बिस्फोटनका आवाजले हल्लाइदिएको थियो भने आकाशमा आगोका लप्का माथिसम्म देखिएका थिए । इजरायली आक्रमणहरु मध्य शहर डायर अल–बलाह र दक्षिणतर्फको खान युनिस शहरमा पनि भएका थिए ।

बिहान हेर्दा खान युनिस शहरका पाँच स्थानीयवासीका घर बम आक्रमणबाट ध्वस्त भएका पाइएका थिए । गाजा शहरको व्यापारिक केन्द्रका रुपमा रहेको अल–सफ्तावी स्ट्रिटमा पनि भिषण आक्रमण भएको थियो ।

इजरायली सेनाले हमासका कमान्डरका कम्तीमा चार वटा घर ध्वस्त पारिएको जनाएको छ । खान युनिसमा खवाल्डी परिवारको दुई तले भवन क्षतिग्रस्त भएको छ । डरका कारण आफ्नो घर छाडेर ११ सदस्यीय खवाल्डी परिवार नजिकैको अर्को घरमा बस्न थालेको थियो । तर आक्रमणबाट उनीहरु पनि घाइते भएका र अस्पताल भर्ना गरिएको छिमेकी शाकेर अल–खोजोनदारले बताउनुभयो ।

हालको सैनिक कारबाहीबाट सयौं व्यक्तिको ज्यान गइसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतन्याहूलाई दुई पटक आग्रह गरेपनि त्यसलाई बेवास्ता गर्नु भएको छ । गत साता लडाईं शुरु भएयता दुई मुलुकबीचको तिक्तता पहिलोपटक सतहमा देखा परेको छ ।

सैनिक मुख्यालयको भ्रमणपछि प्रधानमन्त्री नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपतिको समर्थनको प्रशंसा गर्नु भएको थियो । नेतन्याहूले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गर्नु भएको थियो । तर पहिलो पटक फोन गर्दा बाइडेनले इजरायलमाथि दबाब दिनु भएको थिएन । तर मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि दबाब बढ्न थालेको छ ।

इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन् । उनीहरुले इजरायलको जवाफको प्रतिक्षा गरिरहेको बताएका छन् ।

हमासका एक जना वरिष्ट अधिकारी मौसा अबु मार्जोकले लेबनानी टेलिभिजनसँग कुरा गर्दै एक दुईदिन भित्रै युद्धबिराम हुने अपेक्षा गरिएको बताउनु भएको छ ।

जर्मनीका विदेश मन्त्री हेको मास पनि इजरायली र प्यालेस्टिनीसँग वार्ता गर्न बिहीबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । इजरायलको विदेश मन्त्रालयले इजरायलको कारबाहीप्रति समर्थन जनाउन स्लोभाकिया र चेक गणतन्त्रका विदेश मन्त्रीहरुले इजरायल भ्रमण गर्न लागेको जनाएको छ ।