तनहुँ- जिल्लाको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई पाँच हजार रुपैयाँ उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।
नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन् ।
त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै, ५९ सङ्क्रमणमुक्त भएका छन् । दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ ।







प्रतिक्रिया