अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह सिल

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह सिल


काभ्रे- पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् ।

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । ‘अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुपर्‍यो,’ बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो । बनेपा जिल्लाको प्रमुख शहर हो ।

पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ । धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन् । रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन शिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ ।

साथै शिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन् ।

सूचना विभागबाट जारी प्रेस पासवहाक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जिल्लामा एक साता निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।