अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणमा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

कोरोना नियन्त्रणमा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल


हेटौँडा- बागतमी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ब्याक टू लाइफ’ ले प्रदेश सरकारलाई प्रदान गरेको एक करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

पौडेलले महामारी क्रमशः नियन्त्रणका क्रममा रहेको जनाउँदै विभिन्न सङ्घसंस्था तथा व्यक्ति एवं स्वास्थ्यकर्मीले महामारीमा दिलोज्यानले काम गरेकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले महामारीलाई नियन्त्रण गर्न सरकारले रकम तथा जनशक्ति अभाव हुन नदिएको बताउनुभयो । प्रदेश सरकारलाई जर्मनी संस्था ‘ब्याक टू लाइफ’ नामक अन्तरराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरणसहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

संस्थाले १८ थान अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरण, दुई थान हाई फ्रिक्वेन्सीका मोबाइल एक्सरे, ६० थान पल्स अक्सो मिटर, पाँच थान सिरिन्ज पम्प, पाँच थान इन्फेशन पम्प, केएन ९५ मास्क छ हजार, सर्जिकल मास्क एक लाख, फेसशिल्ड दुई हजार ७००, पीपीई एक हजार १००, मोनिटर ३० र इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जर्मनीको अन्तरराष्ट्रिय संस्था ब्याक टू लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

प्रदेशका अति विपन्न तामाङ र चेपाङ समुदाय बाहुल्य चितवन तथा नुवाकोटमा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा सो संस्था कार्यरत रहेको छ ।