काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको कारण चुनाव रोकिन नहुने र चुनावको कारण महामारी फैलिन नहुने बताउनुभएको छ ।
निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा प्रधानीमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्रीले निर्वाचनको मितिबारे औपचारिक जानकारी आयोगलाई जानकारी गराउनुभएको छ ।
‘निर्धारित समयमा चुनाव गराउन तपाईंहरू पूर्णरूपमा तयारी थाल्नुहोस् । सरकारले स्रोतको प्रवन्ध गर्छ,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थपलियाले भन्नुभयो, ‘निर्वाचन आयोगबाट कुनै पनि कुराको कमजोरी नहोस् । सरकारले पूर्णरूपमा सहयोग गर्छ ।’
प्रधानमन्त्री ओलीले महामारीमा बीचमा पनि केही देशहरूमा चुनाव भएको दृष्टान्त पेस गर्दै ती देशहरूले कसरी निर्वाचन गराए त्यसको अध्ययन गर्न पनि भन्नुभएको छ । ‘निर्वाचनको कारणले महामारी थप जटिल हुनुहुँदैन । महामारी छ भनेर निर्वाचन रोकिनु पनि भएन,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थपलियाले नेपाली बहस डटकमसँग भन्नुभयो ।
आयोगका तर्फबाट प्रमुख आयुक्त थपलियाले आफूहरू निर्धारित समयमा नै निर्वाचन गराउनु सफल हुने बताउनुभएको छ ।
गएराति प्रतिनिधि सभा विघटन गरिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो चरणको निर्वाचन २०७८ साल कात्तिक २६ गते र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी मिति तोक्नुभएको छ ।
आयोगसँगको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, पूर्वकानून मन्त्री अग्नि खरेललगायत सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया