काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताउनुभएको छ ।
महामन्त्री डा कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाउनुभयो ।
निवर्तमान सांसद डा कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
कांग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति जारी गरी देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् भङ्ग गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको हो ।
निवर्तमान सांसद कोइरालाले कोरोना महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने बताउनुभयो ।
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरिनु लोकतन्त्र र संविधानमाथि हमला भएको बताएको छ ।







प्रतिक्रिया