अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासघातीहरू जहिले र जहाँ पनि हुन्छन् : प्रधानमन्त्री ओली

विश्वासघातीहरू जहिले र जहाँ पनि हुन्छन् : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ । उहाँले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको जनाउँदै विश्वासघातीहरू जहिले र जहाँ पनि हुने गरेको बताउनुभयो ।

‘अदालतले पार्टी फुटाएको हैन, पार्टी दर्ता गर्न जानुपर्ने बेला नगएर पार्टी दर्ता नभएको हो’, ओलीले भन्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा ऐतिहासिक बर्रे संघर्षका क्रममा लामो समय कारागर बसेका अर्घाखाँचीका क्रान्तिकारी बुद्धिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा तेह्र वर्ष’ कृति लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अग्रजहरुले गरेका दुःखकष्ट बिर्सन नहुने विचार व्यक्त गर्नुभयो ।

उहाँले रायमाझी मिलनसार, देश र जनताप्रति समर्पित तथा आफू जलेर अरुलाई उज्यालो दिने व्यक्तित्व भएको बताउनुभयो ।

कारागार संगतका क्रममा आफूले रायमाझीलाई अध्ययनशील पाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्धिबहादुर, नारद भारद्वाज, वेदुराम भुसाल र प्रभाकृष्ण पौडेलजस्ता केही साथी जेलमा पढ्नभयो र निस्कने बेला ज्ञानको खजाना लिएर निस्कनुभयो ।’

कारावासका अनेकौँ अनुभव सुनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेलमा संख्यामा झापालीहरू बढी र बर्रे संघर्षका साथीहरू कम थिए, झापालीहरू पढ्नु र अझ परीक्षा दिनुलाई बुर्जुवा शिक्षामा मोह राखेको भनेर पढ्न मन गर्दैनथे तर बर्रे संघर्षका साथीहरू पढ्नमा विश्वास गर्थे । नारद वाग्ले र वेदुरामले पिएचडी नै गर्नुभयो । अहिले पनि राम्रो अंग्रेजीका लागि प्रभाकृष्णलाई सम्झिइन्छ ।’

रायमाझीको प्रस्तुत संस्मरणमा उहाँले कारागार जीवनमा आर्जन गरेको ज्ञान प्रतिविम्बन भएको जनाउँदै प्रधानमन्त्री ओलीले ती निबन्धमा पर्याप्त मात्रामा विम्ब, प्रतीक तथा अभिव्यञ्जना रहेको बताउनुभयो ।

दृष्टान्तका लागि ओलीले बुद्धिबहादुरले नाम दिएको ‘काठमाडौंँको लोकप्रिय मासु’ को उल्लेख गर्दै उहाँले भन्नुभयो, यसमा एक जनावरविशेषको चित्र उपस्थित भइहाल्छ, साहित्यलाई प्रभावशाली बनाउन यस्ता विम्ब र प्रतीकको महत्वपूर्ण भूमिका हुन्छ ।’

‘कोहीकोही नेता किन छोटो अवधिमै छुट्छ, कोही कार्यकर्ता किन वर्षौसम्म जेलमा बस्नुपर्छ? किनभने निस्कने ढोका सानो हुन्छ र नेता निहुरिएर त्यस ढोकाबाट बाहिरिन्छ, कार्यकर्ता निहुरिन नमानेर जेलमै बस्छ’, विश्वासघाती नेताहरूको चरित्र बताउँदै उहाँले भन्नुभयो, ‘कार्यकर्ताले त नेताबाट स्नेहको अपेक्षा गर्छन् ।’

ओलीले त्यागी र संघर्षशील नेताकार्यकर्ताका भुक्तभोगी परिवारलाई सम्बोधन गर्दै भन्नुभयो, ‘तपाईंहरूले चित्त बुझाउनुस्, त्यो त्याग हो, लगानी होइन । त्यागले लगानीको जस्तो प्रतिफल खोज्दैन । त्यो देश र समाजले हासिल गरेको उपलब्धिमा प्रतिविम्बित हुन्छ । तपाईंहरूले यसरी चित्त बुझाउनुपर्छ ।’

जनसामान्यबाट उठेको राष्ट्रपति जस्तो पदका लागि औपचारिक र मर्यादापूर्ण सम्बोधन पनि गर्न नसक्ने केही नेतातर्फ इंगित गर्दै उहाँले तिनलाई अझै सामन्तशाही नै प्यारो लागिरहेको बताउनुभयो । उहाँले शिष्टता र मर्यादापूर्ण भाषाको प्रयोग गर्न सुझाव दिनुभयो । हिमाली सभ्यता र नेपाली भाषाको आफ्नै विशिष्ट मौलिकता रहेको तर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।