अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको योजना– ‘तत्काल नयाँ पार्टी घोषणा, लगत्तै माओवादीसँग एकता’

माधव नेपालको योजना– ‘तत्काल नयाँ पार्टी घोषणा, लगत्तै माओवादीसँग एकता’


काठमाडौं– एमाले विवाद समाधानका लागि कार्यदलले काम गरिरहेकाबेला नेता माधवकुमार नेपालले आफ्नो सरकारका प्रधानमन्त्री हटाउन विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गर्नुभयो । उहाँले आफूमात्र होइन, २६ जनाको कीर्ते हस्ताक्षर पनि बुझाउनुभयो ।

२६ मध्ये १५ सांसद मूलधारमा फर्कनुभएको छ । माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुले मात्रै हस्ताक्षरमा सहमति जनाउनुभयो । ११ जनालाई कारबाही गर्ने तयारी भइरहँदा नेता नेपालले नयाँ पार्टी बनाउने औपचारिक निर्णय गर्नुभएको छ ।

नेपाल निकट स्थायी कमिटीको शनिबारको बैठकले नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको छ । नेपालले भने यस्तो प्रतिक्रिया दिएका छन्‘ केपी शर्मा ओलीले धकेलेर नयाँ पार्टी खोल्न बाध्य पार्नुभयो ।’ नयाँ पार्टीमा योगेश भट्टराई र गोकर्ण विष्ट नजाने भएका छन् नेता घनश्याम भूसाल भने दोधारमा रहेको बताइएको छ ।

नेपाल निकट स्रोतका अनुसार नेपालले तत्काल नयाँ पार्टी घोषणा गर्ने योजना बनाउनुभएको छ । नयाँ पार्टी र त्यसपछिको पार्टी एकताबारे नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार नै छलफल गर्नुभएको छ ।

नेपाल निकट एक नेता भन्नुहुन्छ, ‘नयाँ पार्टी गठनको केही समयमा नै माओवादीसँग एकता गर्ने तयारी छ । एकतामा झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले साथ दिनुहुन्छ ।’